२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा १६ वटा नमुना टेस्ट गर्दा ७ वटा कारोनाको नयाँ भेरियन्ट जेएन-वान भेटियो

काठमाडौं । पछिल्लो समय विश्वभर फैलिइरहेको ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन-वान नेपालमा पनि पुष्टि भएको छ । देशका विभिन्न भागबाट संकलन गरिएका १६ वटा पिसिआर तथा एन्टिजेन पजिटिभ नमुना परीक्षण गर्दा सात नमुनामा जेएन।वान देखिएको हो ।

छिमेकी भारतमा जेएन।वान धेरै फैलिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षण गरेको थियो । नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सीमा प्रवेश विन्दुमा स्क्रिनिङ र निगरानी बढाउन हेल्थ डेस्क र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको जनाएको छ । स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई पनि उपचार व्यवस्थापनको तयारीका लागि मन्त्रालयले आग्रह गरेको छ ।

संक्रमण र संक्रमणको फैलावट रोक्न भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न–गराउन पनि सम्बन्धित निकायलाई जानकारी गराइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताएका छन् । ‘कोभिडविरुद्धको खोप नलगाएका व्यक्ति, गर्भवती, दीर्घरोगी र अन्य विभिन्न कारणले प्रतिरोधी क्षमता कम भएका व्यक्ति संक्रमणको जोखिममा छन् । छिमेकी मुलुकमा पनि अहिलेको भेरियन्टले संक्रमण बढाइरहेकाले फेरि संक्रमण फैलिन नदिन सचेत हुनुपर्ने समय आएको छ,’ प्रवक्ता बुढाथोकीले भने ।

गत सेप्टेम्बरमा अमेरिकामा पहिलोपटक देखिएको जेएन।वान पछिल्लोपटक महामारीको रूप लिएको ओमिक्रोनको सबभेरियन्ट हो । सुरुवाती दुई महिना संक्रामक नदेखिए पनि डिसेम्बरपछि यो भाइरस तीव्र रूपमा फैलिन थालेको हो । वृद्धवृद्धामा जोखिम मानिएको जेएन।वान पछिल्ला अन्य भेरियन्टहरूको तुलनामा संक्रामक मानिए पनि अस्पताल भर्नादर र मृत्युदर भने निकै न्यून छ ।

जेएन।वान हाल भारत, चीन, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत देशमा तीव्र रूपमा फैलिइरहेको छ । यसबाहेक अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपियन देश डेनमार्क, स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्यान्डमा बढिरहेको छ । पछिल्लो समयमा सार्स संक्रामक रोगमध्ये सबैभन्दा बढी प्रभावित गरिरहेको ‘जेएन।वान’ पनि रहेको इन्फ्लुएन्जा डाटा साझा गर्ने ग्लोबल डाटाबेस ग्लोबल इनिसिएटिभले देखाएको छ ।

हाल अमेरिकामा सबैभन्दा बढी फैलिइरहेका कारण सिडिसीले निरन्तर यसको असरबारे निरीक्षण गरिरहेको जनाएको छ । सिडिसीका अनुसार जेएन।वान भाइरस संक्रमणका लक्षणसमेत अन्य कोभिडसँग मिल्दाजुल्दा छन् ।

 

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस