२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा २ जनाको हत्या गर्नुअघि भारतमा पनि श्रीमतीका अर्का प्रेमीको हत्या गरेका थिए अखिलेशले

Before killing 2 people in Chitwan, Akhilesh had also killed another lover of his wife in India

काठमाडौं । भरतपुरको मिलन चोक नजिकै कल्भर्टमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलाको हत्या उनका पति अखिलेश भगतले गरेको दाबी प्रहरीले गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा रहेका भगतले यो कुरा स्वीकार गरेका छन्।

यो घटना हुनुअघि उनीहरू तीनै जना मिलेर भारतमा अर्का एक युवकको हत्या गरेको पनि खुलेको छ। यी दुबै घटनामा मृतक र हत्यामा संलग्न सबै भारतीय नागरिक हुन्। उनीहरू भारतको बिहार राज्यका हुन्। अखिलेशले चितवनमा श्रीमतीसँग मारिएका र भारतमा हत्या गरिएका युवक दुबै जना आफ्नी श्रीमतीका प्रेमी रहेको बयान दिएको प्रहरी स्रोत बताउँछ।

झट्ट सुन्दा कुनै फिल्मको कथा जस्तो लाग्ने यो घटना कसरी भयो ? भारतको बिहार राज्य पूर्वी चम्पारण सुगौली सुगांव डीह घर भएका ३२ वर्षीय अखिलेश र ३० वर्षीया अस्मिता भनिने सन्जुदेवीको विवाह सन् २०१३ मा भएको थियो। उनीहरूका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्।

६ वर्ष पहिले अखिलेश भारतको मोतिहारीस्थित फूलबारीया, सुगौलीमा रहेको मामाघर जाँदा त्यहीँ घर भएका १९ वर्षीय ऋषभकुमार कुशवाहा र २२ वर्षीय रितेश साह नामका युवाहरूसँग दोस्ती भएको थियो। उनीहरूको दोस्ती बढ्दै जाँदा व्यावसायिक साझेदारसम्म बन्न पुगे। उनीहरूले काठमाडौंस्थित कालिमाटी तरकारी बजारमा साझेदारीमै तरकारी तथा फलफूलको व्यवसाय गर्न थाले। दोस्ती बढेसँगै उनीहरूको पारिवारिक सम्बन्ध थप प्रगाढ बनेर गयो। दोस्ती यति बढी भयो कि साथी ठानेका दुई युवकको आफ्नी पत्नीसँग प्रेम सम्बन्ध भएको अखिलेशले मेसै पाएनन्।

अर्कोतिर सन्जुका प्रेमीहरूबीच आपसमा मनमुटाव सुरू भयो। एक दिन ऋषभले अखिलेशलाई रितेशले सन्जुलाई दुःख दिइरहेको खबर सुनाइदिए। रिसले आगो भएका अखिलेशले ऋषभ र अर्का एक साथीसँग मिलेर रितेशको हत्याको योजना बनाए। उनीहरूले अक्टोबर २३ तारिखमा रितेशको अपहरण गरी हत्या गरेको पाइएको सुगौली थानालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले समाचार प्रकाशन गरेका छन्। अखिलेशले प्रहरीलाई गम्छाले घाँटीमा कसेर रितेशको हत्या गरेको बयान दिएका छन्। त्यसपछि शवलाई बोरामा हालेर गोपालपुर भन्ने ठाउँमा खाल्डो खनेर पुरिदिएको बयान उनले प्रहरीलाई दिएको भारतीय अखबार दैनिक भाष्करले उल्लेख गरेको छ।

अखिलेशले दिएका बयानअनुसार घटनाको एक हप्ताभित्रै श्रीमती सन्जुदेवी घर छाडेर हिँडेकी थिइन्। श्रीमतीलाई खोज्दै चितवन आइपुग्दा उनले श्रीमती र ऋषभबीचको सम्बन्ध थाहा पाएका थिए। उनीहरू भरतपुर–९ स्थित पूर्वपश्चिम राजमार्ग नजिकैको एक घरमा बसेका थिए। यहाँ ऋषभको काका नाता पर्नेको कोठा नजिकै उनीहरूले कोठा लिएका थिए। नेपालमा तरकारी तथा फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका उनीहरू अन्तिम पटक गत दसैंपछि नेपाल आएर चितवन बस्न थालेका थिए। भारतमा हत्यामा संलग्न भएपछि उनीहरू चितवनमा लुकेको हुनसक्ने आशंका प्रहरीको छ।

भरतपुरमा बोरामा पोको पारेर फालिएका पुरूष र महिलालाई पतिले मारेको खुलासा

आफ्नै अगाडि श्रीमती र ऋषभबीचको प्रेम सम्बन्ध देखेर आक्रोशित बनेका अखिलेशले हत्याको योजना बनाएको अनुसन्धानबाट देखिन्छ। सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मंसिर २ गते ऋषभ र सन्जुलाई अखिलेशले उनीहरू बस्ने गरेको भाडाको कोठामा नै हत्या गरेका थिए। हत्यापछि एउटा शवलाई मंसिर ३ गते बिहान पौने १ बजेतिर र अर्कोलाई सवा १ बजेतिर साइकलमा लगेर लुकाएको प्रमाण प्रहरीले फेला परेको उनले बताए। अखिलेशले शव लगेको दृष्य प्रहरीले सिसिटिभी फुटेजमा फेला पारेको थियो। प्रहरीले मंसिर ६ गते दिउँसो पौने १ बजेतिर मिलनचोकस्थित कल्भर्टको मुनि केरुङ्गा घोलमा शंकास्पद रूपमा रहेका २ वटा शव फेला पारेको थियो। मुखमा टेप लगाइएको, घाँटीमा सलजस्तो रातो कपडाले कसेको, दुबै शवको दुबै हात, खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमासमेत बाँधी डल्लो बनाई जुटको बोराभित्र कोचिएको थियो।

प्रहरीलाई अखिलेशसम्म पुग्न करिब डेढ महिना लाग्यो। केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, संकलित सूचना समेतको विश्लेषण गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको अधिकारी बताउँछन्। निकै ठूलो प्रयासपछि अन्तरदेशीय अपराधको यो घटनामा मृतक र हत्यामा संलग्न व्यक्तिको पहिचान भएको उनले बताए। प्रहरीले मृतकको पहिचान गर्न सामाजिक सञ्जालको भरपुर प्रयोग गरेको थियो। लामो समयसम्म पहिचान नभएपछि प्रहरीले मृतकहरूको स्केच पनि सार्वजनिक गरेको थियो। मृतकहरू भारतीय हुनसक्ने आशंकामा नेपाल प्रहरीले मृतक र साथमा भेटिएका सामग्रीका तस्वीर भारतका विभिन्न स्थानका प्रहरी कार्यालयहरूलाई पठाएको थियो।

‘खोजी गर्दै जाँदा कालीमाटी प्रहरी वृत्तमा उनीहरूको एउटा मुद्दा परेको पनि भेटियो। श्रीमान, श्रीमती र श्रीमतीका प्रेमीसँग सम्बन्धित मुद्दा रहेछ। खोज्दै जाँदा हाम्रै सूचनाको आधारमा भारतको प्रहरीले अखिलेशलाई समात्यो,’ एसपी अधिकारीले भने। अखिलेश घटनालगत्तै फरार भएका थिए। भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा उनीमाथि भारतको प्रहरी थाना सुगौलीमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआइआर दर्ता भई पुस १६ गते प्रहरीले पक्राउ गरेको थियो।

गत अक्टोबर २३ (कात्तिक ६) मा २२ वर्षीय रितेश हराएपछि रितेशका बाबुले अक्टोबर ३० (कात्तिक १३) मा छोरो हराएको भनेर सुगौली थानामा एफआइआर दर्ज गरेका थिए। त्यसमा रितेशलाई ३० वर्षीया प्रेमिका सन्जुदेवी र सन्जुदेवीका अर्का १९ वर्षीय प्रेमी ऋषभ मिलेर अपहरण गरेको भनिएको थियो। त्यसपछि त्यहाँको प्रहरीले यो घटनाको विषयमा अनुसन्धान सुरू गरेको थियो। भारतको प्रहरीले अनुसन्धान गरिरहेका बेला चितवनमा दुई छुट्टाछुट्टै बोरामा महिला र युवकको शव फेला परेका थिए।

भारतीय प्रहरीले अखिलेशले भनेको ठाउँमा गएर जेसिबीको सहयोगमा खनेर हेर्दा रितेशको शव भेटिएन। प्रहरीले त्यहाँबाट केही कपाल, नङ र औंला बरामद गरेको छ। प्रहरीले खन्दा भेटिएका अवशेषको अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

 

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस