२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय सभामा अरुलाई मतदान गरिन्न माओेवादीको निर्णय बाहिरियो

Prime Minister Pushpa Kamal Dahal Prachanda

सिमकोट । राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरुले आफूखुसी गरेको भन्दै सत्ताको नेतृत्वकर्ता दल माओवदी केन्द्र हुम्लाका सवै जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन् । सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सीट बाँडफाँडको टुंगो लागेका बेला कर्णाली प्रदेश र संघीय सरकारको नेतृत्व गरेको माओवादी हुम्लाले गरेको लिखित निर्णयले गठबन्धनमा ठूलो संकट उत्पन्न भएको छ । सातवटा गाउँपालिका भएको हुम्लाबाट स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित आठ जनप्रतिनिधिले आसन्न राष्ट्रिय सभा निर्वाचन र पार्टीका प्रदेश तथा केन्द्रका कुनैपनि गतिविधमा सहभागि नहुने निर्णय गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको उमेरदवारका लागि माओवादी केन्द्र हुम्लाबाट जिल्ला समन्वय कमिटिमा संयोजक डा. दिपेन्द्र रोकायालाई एकल सिफारिस गरेपनि प्रदेश र केन्द्र पार्टीबाट सम्वोधन नहुने भएपछि शनिबार संघीय राजधानीमा बसेको जनप्रतिनिधिहरुको सामूहिक बैठकले यस्तो निर्णय गरेपछि सत्ता गठबन्दनमा ठूलो हलचल भएको छ । माओवादी केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध) को अध्यक्षतामा बसेको बैठकले पार्टीको सांगठनिक तथा आम निर्वाचनमा ठूलो भूमिका खेलेको हुम्लालाई नेताहरुको पूर्वाग्रही सोचका कारण प्राथमिकता नपरेको निचोड निकालेको छ ।

विभिन्न ९ वटा निर्णय गरेको बैठकमा अहिलेसम्म जुन रुपमा माओवादी केन्द्र हुम्लाको भूमिकालाई बाइपास गर्ने काम भयो त्यसले हामीलाई आसन्न माघ ११ गतेको राष्ट्रिय सभाको निर्वाचनमा भाग नलेउ भन्ने निर्देशन गरेको छ माओवादी कर्णाली प्रदेश उपसचिव समेत रहेका ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले भने, अब हामी कुनैपनि हालतमा उपस्थितीमा पार्टीका प्रदेश र केन्द्रीय स्तरका गतिविधि लगायत राष्ट्रिय सभा निर्वाचनको मतदान प्रक्रियामा भाग लिन सक्दैनौं । निर्वचनको सम्मुखमा आयोजना गरिएको पुस २५ र २६ गतेको कर्णाली प्रदेश कमिटी बैठकमा समेत सहभागिता नजनाउने निर्णय गरेको छ । केन्द्रीय सदस्य भण्डारीका अनुसार संगठन निर्माणका लागि अरुलाई ताकेता गर्ने प्रदेशका नेताहरुले पार्टीको लाभ वितरणमा आफू केन्द्रीत भएर हेरेकै कारण लामो समयको पर्खाइपछि हुम्लाले अप्रीय निर्णय गरेको हो ।

‘हाम्रो टाउको छेदन गरेपनि, अहिलेको पार्टी र सत्ताको पद खोसेपनि खोसियोस् तर अलिहेकै स्थितीमा पार्टीले पुर्नबीचार नगरे माओवादी केन्द्र हुम्ला न पार्टीका प्रदेश र केन्द्रीय गतिविधिमा सामेल हुन्छ न आसन्न राष्ट्रिय सभा निर्वाचनमा नैं सहभागी हुन्छ’, नेता भण्डारीले थपे ।
पार्टीका केन्द्रीय सदस्य छिमिजोर्जी लामासहित अन्य आठजना जनप्रतिनिधिहरुको उपस्थिती गराइउपनि ५ जनाको हस्ताक्षर भएको बैठकले अहिलेसम्म माओवादी पार्टीको सांगठानिक र राजकीय जिम्मेवारीमा कुनैपनि बेला हुम्लाले न्याय नपाएको भन्दै पहिलो पटक लिखित असन्तुष्टी जनाएको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन होस् वा स्थानीय तहको निर्वाचन होस् सबैमा माओवादीको आधार इलाका बनाएको हुम्लालाई राजकीयदेखि पार्टीको सांगठानिक जिम्मेवारीमा जहिल्यै विभेद गर्ने काम भएको छ’, निर्णयका बारेमा जानकारी दिदैं पार्टीका कर्णाली प्रदेश उपसचिव समेत रहेका ताँजकोट गाउँपालिका अध्यक्ष जैशीले भने, ‘हरेक पटक भोट हाल्ने हुम्ला माओवादीले यस पटक कुनैपनि हालतमा टिकट पाएन भने आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र प्रदेश देखि केन्द्रमा हुने पार्टीको सांगठनिक कामलाई समेत वहिष्कार गर्ने निचोडमा हामी पुगेका हौं ।’

माओवादी उपमहासचिवद्धय जनार्दन शर्मा (प्रभाकर)ले रुकुमपश्चिम, शक्तिबहादुर बस्नेतले जाजरकोट र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रित गरेका कारण हुम्ला यस्तो निर्णय लिन बाध्य भएको नेताहरुले बताएका छन । माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यो निर्णय बुझाइसकेको छ । माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङदम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।

माओवादीले कर्णालीबाट कालिकोटका विष्णु बिकलाई राष्ट्रिय सभाका लागि अघि सार्ने औपचारिक निर्णय गरिसकेको छ ।
कर्णाली प्रदेशमा पार्टीको आधार इलाकाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थान हुँदापनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा गरेका कारण यस पटक माओपवादी हुम्लाले गरेको निर्णयको हुम्ला पार्टीका तर्फबाट सामाजिक सञ्जालमा स्वागत गरिएको छ । निर्वाचनमा ज्यान फालेर पार्टीलाई जिताउँदा पनि प्रदेश र संघको सरकार गठनदेखि केन्द्रीय सदस्य मनोनयनमा केन्द्रबाट हुने विभेदकै प्रतिफल माओवादीको यात्रा ओहलोतर्फ उन्मुख भएको भन्दै जिल्ला देखि गाउँस्तरका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा बिरोध जनाएका छन् ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस