२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिका-पश्चिमा र भारत रिझाउन विश्वमा नेपाल चिनाउने हिमाल सिध्याउन मन्त्रीको डरलाग्दो चलखेल

Minister's terrible move to finish the mountains that make Nepal known to the world

काठमाडौं । नेपाललाई हिमालले चिनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजारभन्दा माथीका ८ वटा हिमाल नेपालमा छन् भनेर विश्वले नेपाललाई चिनिरहेको छ । यद्यपी कतिपय देशहरुमा अहिलेपनि विद्यालय, कलेजका पाठ्यपुस्तक देखि पाठ्य सामाग्रीहरुमा माउण्ट एभरेष्ट (सगरमाथा) कसैले चीनमा, त कसैले भारतमा छ भनेर पढाइरहेका छन् ।

हिमाल हेर्न नेपाल नजाउन् भन्ने ईष्या भावना भएकाहरुले अहिलेपनि गलत सूचना दिएर नेपाल र नेपालीमाथी अन्याय गरिरहेका छन् । केही समय अघि मात्र विश्वकप क्रिकेटमा भारतीय कमेन्टेटरले ‘सगरमाथा भारतको हो’ भनेर सारा नेपालीलाई नै स्तब्ध बनाएका थिए । यसलाई चिर्न नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले अतुलनीय काम गरिरहेको थियो ।

यति मात्र हैन । हिमालयन पथ प्रर्दशक, हिमालयन उद्वारकर्ता, हिमाल आरोहण तालिम देखि पर्वतीय विषयमा स्नातक र स्नातकोत्तरसम्म पढाएर विश्वलाई नै नेपाल हिमालको देश हो भनेर प्रतिष्ठानले चिनाइरहेको थियो । विश्वभरका मानिसहरुलाई नेपालमा आएर पढ्न सक्नेगरी कलेज नै सुरु गरेर विश्वको ध्यान तानेको छ ।

प्रतिष्ठानले त्रिभुव विश्वविद्यालयबाट सम्वन्धन लिएर Master of Adventure Tourism Studies (MATS), Mountain and Mountaineering Science (MSc. MMS) र Bachelor of Mountaineering Studies (BMS) पढाइरहेको छ । यहाँ पढ्ने नेपालीसँगै विदेशी विद्यार्थी समेत छन् । अमेरिका, स्लोभाकिया, फ्रान्ससहित सात वटा देशसँग सहकार्यको सम्झौता गरेर विद्यार्थीहरुलाई अनुशन्धान र सिप अदान–प्रदानको अवसर प्रतिष्ठानले जुटाएको छ ।

तर यही बेला सरकार, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान गाभ्नेगरी अघि बढेको छ । यो भनेको फेरि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान सिध्याउने खेल हो । कुनै बेला नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति मात्र थियो । यहाँ १५ महिनादेखि कार्यालयको भाडा तिर्न नसकेर त्यसै बसेको थियो । ७ महिनादेखि कुनैपनि कर्मचारीलाई तलब दिन सकेको थिएन । जब विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शर्पाकी सहयात्री लाक्पाफूटी शेर्पाको यहाँ आगमन भयो । त्यसपछि प्रतिष्ठानको अध्यारो दिन समाप्त भयो ।

लाक्पाफूटीले दुई कार्यकाल (८ बर्ष) प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रतिष्ठानलाई हाकिन् । त्यसपछि एक कार्यकाल (३ बर्ष) प्रतिष्ठान सञ्चालक समितिको अध्यक्षको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिन् । यो समयमा उनकै नेतृत्वमा हिमालयन पथ प्रर्दशक, हिमालयन उद्वारकर्ता, हिमाल आरोहण तालिम सुचारु भए । हिमालकै विषयमा स्नातक र स्नातकोत्तरसम्म पढाई हुनेगरी क्याम्पस सञ्चालन गरिन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अहिले विश्वमा नै नभएका तर विश्वका लागि उपयोगी विषयमा स्नातक र स्नातकोत्तरसम्म यो क्याम्पसमा पढाइ भइरहेको छ । आफ्नै आम्दानीमा प्रतिष्ठान स्वयत्त रुपमा सञ्चालन हुने अवस्थामा छ ।

राम्रो गरिरहेकी लाक्पाफूटी बुबाको मृत्युको शोकमा संस्कारको काम गर्न सोलुखुम्बु गएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले कुनै स्पष्टिकरण समेत नसोधी पदबाट हटाए । उनलाई हटाएर आफ्नो मनोमानी सञ्चालन गर्नेगरी त्यस्तै व्यक्ति भर्ती गरेका छन् । केही समय प्रतिष्ठान बुझेको पुरानो नेतृत्वलाई काम गर्न दिएको भए हिमालले विश्वलाई चिनाउने मात्र हैन, विश्वको विकसित देश बनाउँनेगरी अर्थतन्त्र तान्ने आधार बनाउँनेमा कुनै दुईमत नरहेको जानकारहरुको दावी छ ।

हज्जारौ रोपनी जग्गा प्रतिष्ठानको स्वामित्वमा छ । विश्व चकित हुने भौतिक संरचनाहरु बनिरहेका छन् । तर यो बेला यस्तो देशकै गरिमा बोकेको प्रतिष्ठानलाई कुनै वर्ग नै नमिल्ने समूहमा गाभेर सिध्याउने खेल भइरहेको छ । पर्यटन मन्त्री किँरातीले आफ्नो मातहतमा रहेका नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र होटल व्यवस्थापन प्रतिष्ठान गाभ्ने सहमतिको प्रस्ताव मन्त्री परिषद्मा पुर्याइसकेका छन् । यसो गर्न उनको स्वार्थ बाझिएको छ । आफ्नो स्वार्थ पूरा गर्न देशप्रति नै घात गरिरहेका छन् ।

देशको अर्थतन्त्रको मुल खम्बा हिमाल र हिमालयन पर्यटन बनाउँन सक्ने सम्भावना दुनियाँले देखिरहेका बेला उनी प्रतिष्ठान नै सिध्याउन खोजिरहेका छन् । कारण अहिले होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा आफ्नो स्वार्थको समिति बनाएका छन् । संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सचिव अध्यक्ष हुनेगरी दुबै प्रतिष्ठान चलाउने र बाँकी आफूले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृतबाट आफ्ना सबै स्वार्थ पूरा गर्नेगरी प्रतिष्ठान चलाउने उनको योजना सजिलै बुझ्न सकिन्छ ।

विदेशीको स्वार्थमा मन्त्री 

नीजि स्वार्थ मात्र हैन । मन्त्री किँराती विदेशीको स्वार्थमा समेत डुबेका छन् । विश्वमा नै विषयमा यति गहिरो अध्ययन गरेर बनाइएको Master of Adventure Tourism Studies (MATS), Mountain and Mountaineering Science (MSc. MMS) र Bachelor of Mountaineering Studies (BMS) कोर्षमा पढाइ हुनेगरी क्याम्पसहरु छैनन् । केही विषय बढाउने क्याम्पस छन् तर उनीहरुसँग कोर्षसँग मिल्ने हिमालहरु छैनन् । तर नेपालमा कोर्ष मात्र सोचे जस्तो हैन, हिमालपनि पर्याप्त छन् । यसले यो विषय पढ्न विश्वकै विद्यार्थीहरु नेपाल आउन सक्छन् ।

भारत, जर्मनी, फ्रान्स, अमेरिकालेपनि यस्तै क्याम्पसहरु अहिले स्थापना गरिरहेका छन् । नेपालमा नै त्यस्तो क्याम्पस हुने हो भने, हिमालको देश नेपाल नै जान्छौं भनेर विद्यार्थी नेपाल आउनु स्वभाविक हो । पढाई सुरु भएपछि विदेशी विद्यार्थीको चासो नेपालमा देख्दा त्यो कुरा प्रमाणित हुन्छ । यस्तो हुँदा हिमालबाट नेपालको अर्थतन्त्र ह्वात्तै माथी उठ्छ । त्यो देख्न नचाहाने र आफ्नै देशमा विद्यार्थी रोक्न चाहाने देशले अहिलेको सरकारलाई प्रभावमा पारेर यसको अस्तित्व नै सिध्याउन गाभ्न खोजिएको सजिलै बुझ्न सकिन्छ । यस क्षेत्रमा गहिरो अध्ययन गरिरहेकाहरुको अनुमान यही भएकाले उनीहरु चिन्तित छन् ।

त्रिभुवन विश्वविद्यालय असन्तुष्ट

यस प्रतिष्ठान अन्र्तगत विषय पढाउनेगरी स्नातक र स्नातकोत्तरको सम्बन्धन दिएको मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपनि यो सम्बन्धमा सन्तुष्ट छैन । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान आत्मर्निभर भएर स्वत्त रुपमा सञ्चालनमा आएको भएकाले मात्र यो सम्बन्धन दिएको त्रिवि पदाधिकारीको भनाई छ । तर राजनीतिक खिचतानीमा प्रतिष्ठान फस्ने हो भने, पढाईमा असर पर्ने, विद्यार्थीको भविष्यमा खेलवाड हुनेतर्फ त्रिविपनि चिन्तित छ । अहिले अध्ययन गरिरहेका विद्यार्थीहरुपनि प्रतिष्ठान गाभिने सूचना पाएपछि चिन्तित छन् । भविष्य नै बर्बाद गर्न सरकार नै लागेको हो की भन्ने उनीहरुको चिन्ता छ ।

पूर्वपदाधिकारीहरूको आपत्ति

सरकारले प्रतिष्ठानलाई न्याथममा गाभ्न लागेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्। प्रतिष्ठानका पूर्वपदाधिकारीहरूले शनिबार पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने व्यवस्था गरेको थियो।

उक्त व्यवस्थालाई कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीपरिषदमा पठाएको प्रति पदाधिकारीहरूले आपत्ति जनाएका हुन्। उनीहरूले दुई निकायलाई समायोजनको विषयमा सम्बन्धित सरकारवालाहरूसँग छलफल नै नगरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाएका हुन्। आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका पूर्वअध्यक्ष लाक्पाफुटी शेर्पाले प्रतिष्ठानको महत्त्व प्रकाश पार्दै ट्रेकिङ गाइड, हिमालसम्बन्धी प्रशिक्षण र अनुसन्धानकर्ता उत्पादनमा महत्वपूर्ण भुमिका रहेको बताइन्।

प्रतिष्ठानलाई सरकारले अभिभावकीय जिम्मेवारी लिएर थप लगानी गुर्नपर्ने ठाउँमा खारेज गर्न खोजेर गैर जिम्मेवारपन देखाएको उनको भनाइ छ। शिक्षण प्रतिष्ठानको पाठ्यक्रमलाई समय सापक्ष बनाउँदै लैजानु पर्नेमा न्याथमसँग समायोजन गरेर प्रतिष्ठानको औचित्य र हालसम्मका उपलब्धि समाप्त पार्न खोजेको शेर्पाले दाबी गरिन्। उनले न्याथमले हस्पिटालिटी र प्रतिष्ठानले पर्वतीय शिक्षा, प्रशिक्षण र अनुसन्धानमा जोड दिँदै आएको भन्दै दुवै निकायको भूमिका फरक रहेको स्पष्ट पारिन्। जस कारण दुई निकायलाई एक आपसमा गाभ्न नहुने शेर्पाको तर्क छ।

नेपाल पर्वत आरोहण प्रशिक्षक संघका प्रतिनिधि छिरिङ पान्दे भोटेले दुई प्रतिष्ठानलाई समायोजन गरेर सरकारले पर्वतीय शिक्षालाई समाप्त पार्न खोजेका बताए। पर्वतीय शिक्षण प्रतिष्ठानले दक्ष जनशक्तिको उत्पादन गरेर नेपालका हिमालहरूलाई विश्वमा चिनाउँदै आएको बताउँदै थप सशक्त बनाउन सरकारलाई आग्रह गरे।

यस्तै, छिरिङ जाङबु शेर्पाले पर्वतीय क्षेत्रमा दक्ष कामदार र आरोहीहरू पलायन भइरहेको समयमा राज्यले यस्ता निकायलाई थप जिम्मेवार बनाउनु पर्नेमा राज्यले नै निष्कृय पार्न लागि परेको भन्दै आपत्ति जनाए। उनले नेपालको हिमालका बारेमा विदेशमा गएर शिक्षा लिनुपर्ने अवस्था आउन नदिन शिक्षण प्रतिष्ठानलाई विश्वविध्यालयको रूपमा अगाडी बनाउन समेत सरकालाई आग्रह गरे।

प्रतिष्ठानका पूर्वअध्यक्ष सन्तोष थापा मगरले दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई सरकारले व्यवस्था गरेको बताए। साथै, प्रतिष्ठानका गुडविल एम्बेष्डर सञ्जय खतिवडाले सरकारले समायोजन तयारी फिर्ता नलिए हिमाली पर्यटनमा आधारित व्यवसायी, मजदुर र विद्यार्थीहरू आन्दोलनमा उत्रिने चेतावनी दिए।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस