२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यसै वर्ष विवाह गर्ने तयारीमा थिए जयशंकर, अस्पतालमा राजनीति घुस्दा बरहथवामा सरकारबाट मारिए

Jaishankar was preparing to get married this year

काठमाडौं । अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक युवा मारिएका छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको हो । वडा नम्बर ६ का वडाध्यक्ष मोहमद अफताव आलमका अनुसार जयशंकर प्रदर्शनमा सहभागी थिएनन् । विद्युत् महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए । त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढले ।

२७ वर्षीय साह एमबीबीएसका विद्यार्थी थिए। बंगलादेशमा एमबीबीएस पढ्दै गरेका उनी दुई वर्षअघि बुवा बंगालीराम साहको मृत्युपछि व्यवसाय सम्हाल्न घर फर्किएका थिए। बुवाको मृत्युपछि उनले एमबीबीएसको पढाई पूरा गर्न पाएनन्। आर्थिक हिसावले परिवारमा पनि उनको आवश्यकता बढेपछि पढाई बिचमै छोडेर फर्केका थिए । इलाका प्रहरी कार्यालय बरहथवा नजिकैको साह परिवारले सर्लाही होटल सञ्चालन गरेका छन्। बुवा बितेपछि एक्ला छोरा जयशंकरले नै त्यो होटल सम्हालेका थिए। बुवाले सञ्चालन गर्दै आएको ब्रोइलर कुखुरा (कुखुरा, चल्ला र दाना) को कारोबारलाई पनि उनले निरन्तरता दिएका थिए।

शाहले डाक्टर बन्ने सपना छोडेर युवा व्यवसायीको रुपमा आफूलाई स्थापित गर्दै थिए । शाह यसै वर्ष विवाह गर्ने तयारीमा थिए ।
कांग्रेस–एमाले द्वन्द्वले ज्यान गुमाएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने विधुवा आमा र चार दिदीबहिनीको सपना जयशंकरसँगै ढलेका छन् ।

के हो विवाद ?
संघ सरकारले १८ करोड रुपैयाँ खर्चिएर बरहथवा बजारको तत्कालीन प्राथमिक स्वास्थ्य चौकीको नयाँ भवन बनाएको छ । यो भवनमा १५ शैय्याको अस्पताल बनाउने कि ५० शय्याको बनाएर प्रदेश सरकारलाई चलाउने दिने भन्ने विवाद हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको छ । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरेको हो ।

तर एकाएक राजनीति सुरु भयो । सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्र सिंह मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । प्रदेशले अस्पताल चलाए कांग्रेस लगायतका सत्तारुढ दल हाबी हुने स्थानीय सरकारको नेतृत्व गरेको दल एमाले नेताहरुको बुझाइ बन्यो । एमालेबाट निर्वाचित मेयर कल्पनाकुमारी कटवालले निर्णयअनुसार प्रदेश सरकारलाई सहमति पत्र दिइनन् । प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् ।

कांग्रेससहित सत्ता गठबन्धनका दलहरुले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न दबाव बढाए । १७ पुसको बैठकमा चर्को विवाद भयो । त्यो बैठकले बहुमतका आधारमा ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने अघिल्लो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय ग¥यो । मेयर कटवाल नेकपा एमालेबाट निर्वाचित भएकी हुन्, उपमेयरसहित कार्यपालिकाका बहुमत सदस्य पनि एमालेबाट निर्वाचित भएका छन् ।

अरुले विरोध गरेका कारण अस्पतालबारे निर्णय गर्न २० पुसमा सर्वदलीय बैठक बस्ने सहमति भयो । ५० शय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघले बजार बन्द आह्वान ग¥यो । नेपाली कांग्रेस सहितका राजनीतिक दलले समर्थन गरेका कारण विहानैदेखि बजार बन्द थियो । सर्वदलीय बैठक पनि स्थगित भयो । बैठक स्थगित गरेपछि पनि मेयरको कार्यकक्षमा छलफल चलिरहेको थियो । अस्पताल प्रदेश मातहत जानुपर्ने र स्तरोन्नति हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस सहितका दलले प्रदर्शन गर्न थाले । त्यही क्रममा भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो ।

प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु मेयरको घरतिर लाग्यो । नगरपालिकाबाट करिब १ किलोमिटरको दूरीमा छ । मेयरको घरमा ढुंगामुढा भयो, अगाडि रहेको कारमा पनि आगजनी भयो । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी अश्रुग्याससँगै हवाइ फायर गर्‍यो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर मेयर कटवालको घरभन्दा करिव ५०० मिटर टाढा एक युवकको मृत्यु भएको हो । घटनापछि शुक्रबार साँझ कांग्रेस र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर बरहथवामा १ जनाको मृत्यु र १० जना घाइते हुनेगरी भएको घटनाको दोष एक-अर्कालाई थोपरेका छन्। नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले जारी गरेको विज्ञप्तिमा घटना हुनुमा एकअर्कालाई दोष लगाइएको छ। र, आफूलाई चोखो देखाउने प्रयास गरिएको छ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस