२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भेट्न बोलाएकै ठाउँमा श्रीमान–श्रीमती भाईसहित ४ जना मिलेर किन गरे शिवराजको हत्या

Why did 4 people together including husband-wife and brother kill Shivraj

१८ पुस, दाङ । दाङमा कोइलाखानीमा शव फेला परेका पुरुषको हत्या आरोपमा प्रहरीले श्रीमान श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । पुस १३ गते कोइलाखानीको सुरुङभित्र घेराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षका शिवराज केसीको शव फेला परेको थियो । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षका शेरबहादुर कुँवर, उनकी ३५ वर्षकी श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षका तिलक पुन र बंगलाचुली गाउँपालिका–१ का मेघराज कुँवर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार कुँवर दम्पतीले भेट्न बोलाएर केसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पूर्वयोजना अनुसार मृतक केसीलाई दीपाले ८ पुसमा बंगलाचुलीको गदारीमा भेट्न बोलाएकी थिइन् । त्यसपछि कुँवर दम्पतीले केसीलाई बन्धक बनाएका थिए । उनीहरुले केसीसँग दुई कट्ठा जग्गा माग्दै ब्ल्याकमेलिङ गरेको पाइएको डीएसपी मल्लले बताए । ‘जग्गा नदिएपछि गोली हानी हत्या गरेको देखियो’ उनले भने ।

१३ पुसमा केसीको शव बंगलाचुली गाँउपालिका–४ भुमेबरा सामुदायिक बनको कोइलाखानीभित्र कोइलाको धुलोमा फेला परेको थियो । प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको थियो । सोहीक्रममा मृतकका आफन्तले दीपा छोराछोरी साथमा लिएर भारत जान लागेको भन्दै प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले दीपामाथि पनि अनुसन्धान गरेको थियो ।

दीपाका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई पुस १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि केरकारपछि भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या गरेको खुलेको थियो । भरुवा बन्दुक भने बंगलाचुली– १ का मेघराज कुँवरले उपबल्ध गराएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मल्लको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस