२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय क्रिकेट टीमबाट ‘स्वतः अलग’ : खेल जीवन चकनाचुर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएका सन्दीप लामिछाने राष्ट्रिय टीमबाट स्वतः अलग भएका छन् । नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर्‍याएको थियो । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । यद्यपि सन्दीपले जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

जेल नपरे पनि सन्दीपले नैतिक र कानूनी रुपमा राष्ट्रिय टीमबाट खेल्न नमिल्ने नेपाल क्रिकेट संघ स्रोतले बतायो । यद्यपि गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट कानूनी व्यवस्थाको भने अभाव छ ।

‘अब यो फैसला कायम रहुञ्जेलसम्म उहाँले राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने अवस्था हुँदैन,’ क्यान उच्च स्रोतले भन्यो, ‘उहाँ आफैं ब्याक भइसक्नुभएको छ ।’

सन्दीपले शनिबार वीरगञ्जमा भएको प्रो क्लव च्याम्पियनसीपको फाइनलबाट पनि हात झिकेका थिए । उक्त प्रतियोगितामा पर्साको नेतृत्व गरेका सन्दीपले टीमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्साले पराजय व्यहोरेको छ ।

सन्दीपविरुद्ध जाहेरी दर्ता भएलगत्तै उनलाई निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) ले अदालतले गरेको फैसलापछि औपचारिकरुपमा केही बोलेको छैन । क्यान सन्दीपबारे कुनै निर्णय नलिने र फैसला कायम रहुञ्जेल टिममा नराख्ने मनस्थितिमा देखिएको छ ।

क्यानका एक जिम्मेवारी पदाधिकारीले भने, ‘अब कानूनअनुसार हुन्छ । हिजोको दिनमा आरोपमात्र लागेको अवस्था थियो । अब क्यानले कुनै निर्णय गरिरहनु पर्छ जस्तो लाग्दैन । अब उहाँले पुनरावेदनमार्फत सफाइ पाउनेतिर ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस