२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक अर्बभन्दा बढीमा किनेको रेलबाट १३ करोडभन्दा बढी घाटामा, भारतीय कर्मचारीको हालीमुहाली

धनुषा । एक अर्बभन्दा बढीमा खरिद गरी रेल सेवा सञ्चालनमा ल्याएको २० महिना बितिसके पनि नेपाल रेल वे कम्पनीको आम्दानीको तुलनामा खर्च झण्डै दुई गुणा बढी छ । नेपाल रेल वेमा भारतीय कर्मचारीकै हालीमुहाली रहेको र १३ करोडभन्दा बढी घाटामा गइसके पनि कम्पनीले न नेपाली कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेको छ न आम्दानी बढाउने उपाय नै खोजेको छ । नेपाल रेल वेको ९६ वर्षको लामो इतिहास रहे पनि जयनगरमा भारतीय सुरक्षा तथा भन्सार अधिकारीले नै जाँच गर्दै आएका छन् ।

नेपाल रेल्बे कम्पनीको १० मध्ये यो अन्तिम रेल्बे स्टेशन जयनगर हो । ब्रिटिस ईन्डिया कम्पनीकै पालामा विक्रमसम्वत १९८४ मा नेपाली रेल्बे स्टेशन स्थापना भएको हो । तर, नेपाली सुरक्षाकर्मीलाई यहाँ चेक गर्न रोक छ । प्रहरीले हतियार पनि लिएर जान पाउँदैनन् । जयनगर (जनकपुर-भगंहा रेल्बेको सुरक्षाको जिम्मेबारी सशस्त्र प्रहरीको रहेपनि कुनै प्रकारको रेल सुरक्षा उपकरण भने छैन ।

सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहले भने, ‘हामी रेलवेको भित्र पनि चेक गर्छौं जयनगरमा पनि । तर रेलवे भन्दा बाहिर आएर चाहिँ हामी चेक गर्दैनौं यो हामीले नेपाल रेलवेबाट पाएको जिम्मेवारी अनुसार नै गरिरहेका छौं । एकातर्फ यस्तो समस्या छ भने अर्कोतर्फ नेपाल रेल्वे कम्पनीमा भारतीय कर्मचारीको दबदबा छ । रेल चलाउनका लागि सुरुका दिनमा भारतबाट मुख्य २६ जना जनशक्ति ल्याएकोमा अहिले १७ जना कार्यरत छन् । कर्मचारीको तलवभत्ता, रेलको सरसफाई र मर्मत सम्भारका नाममा नेपाल रेल्बेले भारतीय कोंकन कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ बुझाउँदै आएको छ । जबकी प्रबन्धक सञ्चालकसहित १ सय ३ जना नेपाली कर्मचारीको मासिक तलब १७ लाख मात्र छ ।’

रेल्वेलाई प्रत्येक महिनाको आम्दनी ७५ लाख छ भने खर्च भने १ करोड २९ लाख भन्दा बढि छ । रेल्वे कम्पनीले मासिक ज्यालादारीमा कर्मचारी भर्नाको प्रक्रिया सुरु नगरेको भने पक्कै होइन । १ सय २९ जना कर्मचारीको मांगसहित गरेको विज्ञापनमा प्रकृया नपुगेको भन्दै लोकसेवाले रोक लगाएपछि रेल्बेले पुनः अर्को प्रयास भने थालेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले भने, ‘यो एक साताभित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल रेलवे कम्पनीका लागि चाहिने कर्मचारीहरूको संगठन संरचना र दरबन्दी पास गर्नेछ । र कर्मचारीको भर्ना प्रक्रिया पनि अगाडि बढ्नेछ । लोकसेवा आयोगले यसको परीक्षा लिनेछ।’

नेपाल रेल्वे कम्पनीले कुनै पनि हालतमा मात्र यात्रु ढुवानी गरेर नाफा आर्जन गर्न सक्दैन । यसको उदाहरण हो डेमो रेल सञ्चालनमा आएको २० महिना भन्दा बढि भइसके पनि १३ करोड भन्दा बढी घाटामा छ । यस्तो गम्भीर समस्या हुदाँहुदै पनि रेल्वे कम्पनीले अहिलेसम्म मालबाहक रेल सञ्चालनमा ल्याउन सकेको छैन । कार्गो सेवा सञ्चालनमा ल्याउन सके मधेश प्रदेश लगायतका उद्योगी व्यवसायीहरुलाई भारतबाट सिधै कच्चा पदार्थ, कोयला, खाद्यान लगायतका सामानहरु ढुवानीमा धेरै नै कम खर्च पर्न जान्छ । कार्गो सेवा सञ्चालनका लागि भारतीय दूतावास १०र१० वटा बग्गीसहितको २ सेट रेल दिन तयार रहे पनि नेपाल सरकारले नै कुनै चासो नदेखाएको स्रोतको भनाइ छ ।’

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस