२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालकुमारी घटना : दैवले गत वर्ष बुवा लग्यो, अहिले आफैं गए, छोराको मृत्युले आमा बेहोस्

काठमाडौं । ललितपुरमा दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा दुई युवकको मृत्यु भयो । कोरियाको पानीजहाज कम्पनीका कामदार छनोट गर्ने प्रयोजनका लागि सञ्चालित परीक्षामा अनुत्तीर्ण भएका युवाले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राखे । तर अनुत्तीर्ण भएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रका लागि फेरि आवेदन दिन नपाउने सूचना इपिएस कार्यालयले सार्वजनिक गरेपछि विरोध भएको हो ।

इपिएसविरुद्ध १७ उम्मेदवार उच्च अदालत पाटन पुगेकामा अदालतले उनीहरूलाई परीक्षामा सहभागी गराउनु भन्ने आदेश जारी गर्यो । परीक्षामा सहभागी हुन नपाएका बाँकी युवामध्ये केही शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडी पनि जलाए । त्यसपछि युवा र प्रहरीबिचको झडपमा दुई जनाको मृत्यु भयो । प्रदर्शनका क्रममा दैलेखका २३ वर्षीय सुजन राउत र डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ ।

गत वर्ष मंसिरमा सुजनका बुवा भक्तबहादुरको क्यान्सरबाट ज्यान गएको थियो । बाबु बितेपछि विधवा आमा, बहिनी र भाइको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आएको थियो । बुवाको उपचारमा लागेको लाखौँ ऋणको भारी उठाउन दक्षिण कोरियाको तयारीमा जुटेका उनको सपना अधुरै रह्यो । अर्का मृतक शाहका बुबा प्यारालाइसिसबाट पीडित छन्, छोराको मृत्युको खबर सुनेपछि आमा बेहोस छिन् ।

झडपमा नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीतर्फ चार जना घाइते भएका छन् । प्रहरीले सोही घटनामा संलग्न भएको आरोमा प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको जानकारी दियो । प्रदर्शनमा दुई युवकको मृत्यु भएको घटना छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । उता, पाटन उच्च अदालतले कोरियाको जहाज कम्पनीका कामदार र उत्पादनमूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबै उम्मेदवारलाई इपिएस परीक्षामा सहभागी गराउन आदेश जारी गरेको छ । सामाजिक सञ्जालमा आक्रोश बढिरहेको छ । घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ नेपाली कांग्रेससहितका दलहरुले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस