काठमाडौं । ललितपुरस्थित बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । मन्त्री सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । ज्वाला सवार गाडीमा आगजनी गरेपछि अहिलेसम्म घटनास्थलबाट १७ जना पक्राउ परेका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो । उता, प्रहरीको गोली लागेर घाइते भएका एक पुरुष आन्दोलनकारीको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको जानकारी दिनुभयो ।