२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी घोटालामा रविको प्रत्यक्ष संलग्नता, यी सहकारीबाट ३२ करोड ४५ लाख उठाएर टीभीमा सेयर

Rabi Lamichhane (2)

काठमाडौं । देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार एवं पूर्व गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको खुलासा भएको छ ।

ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीहरूबाट गैरकानूनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएपनि उनी सोझै सम्लग्न रहेको पुष्टि हुने कागजात फेला परेको हो ।

टीभीको सेयर लिन लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट एक करोड रुपैयाँ ल्याएको तथ्य कागजातले पुष्टि गरेको छ । उस्तै प्रकृतिका काम गर्ने सर्वसाधारणबीच आर्थिक सहकार्य गर्ने अवधारणाले विकास भएको सहकारीसम्बन्धी कानूनले नाफामूलक कम्पनीमा लगानी गर्न स्पष्ट निषेध गरेको छ ।

तर, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति तथा सांसदसमेत रहेका लामिछानेको समूहले गैरकानूनी रूपमा सहकारीको पैसा लिएर आफ्नो कम्पनीमा लगानी मात्र गरेनन्, उनीहरूको यो बेथितिले देशभरका आधा दर्जन सहकारीका ५० औं हजार सर्वसाधारणको बिचल्ली भएको छ । ५० औं हजार सर्वसाधारणबाट उठाएको रकम सिध्याएर जीबी फरार छन् भने रवि २०८४ को चुनावपछि क्रान्ति नै ल्याउने भन्दै जनतालाई अझै भ्रममा पार्न तल्लिन छन् ।

राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहने गरी २०७७ फागुन ११ मा ग्यालेक्सी टेलिभिजनको घोषणा भएको थियो । टेलिभिजनमा आफूले नगद लगानी नगरेको र काम गरेबापत पसिनाको हिस्सा (स्वेट सेयर) पाएको सार्वजनिक दाबी लामिछानेको छ । तर गोर्खा मिडिया नेटवर्कमा लामिछानेको तर्फबाट कम्तीमा एक करोड रुपैयाँ जम्मा भएको भौचर नै प्राप्त भएको छ । तर, यो लगानी उनको पसिनाको आम्दानीबाट होइन, सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचतबाट गरेको खुलेको छ ।

टेलिभिजन घोषणा भएको दुई महिना अर्थात् २०७८ वैशाख ५ (१८ अप्रिल २०२१) मा ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खातामा लामिछानेका तर्फबाट एक करोड जम्मा भएको छ । यो रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ‘ट्रान्सफर’ भएको थियो । रकम जम्मा भएको ५ महिनापछि २०७८ असोज १५ मा ग्यालेक्सी टेलिभिजन प्रसारणमा आएको थियो भने त्यसको एक सातापछि २०७८ असोज २३ मा गोर्खा मिडिया नेटवर्कले कम्पनी रजिस्ट्रारबाट सेयर लगत पाएको थियो । सेयर किताबअनुसार अध्यक्ष राईको ८५ प्रतिशत र लामिछानेको १५ प्रतिशत सेयर कायम भएको थियो ।

खाता नम्बर ०४०१०१००००५७७ मा रकम जम्मा गर्नेका नाममा रवि लामिछाने, रोशनी गुरुङ लेखिएको छ । रकम ‘ट्रान्सफर’ गर्न सहकारीकै कर्मचारी रोशनीलाई खटाइएकाले भौचरमा उनको पनि नाम भएको वर्तमान अध्यक्ष ओम गुरुङले बताए ।

रवि लामिछानेबाहेक जीबी राईका तर्फबाट गोर्खा मिडियामा रकम ‘ट्रान्सफर’ गर्न रोशनीसहित सहकारीका कर्मचारी गुञ्जना ज्ञवाली, सुनिता पुन र विष्णुमाया गुरुङलाई खटाइएको थियो । आफूहरूलाई गैरकानूनी काममा लगाएर फसाएको थाहा पाएपछि उनीहरूले अध्यक्ष गुरुङलाई गुहारेका थिए । गुरुङले यसको जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंसहित विभिन्न निकायलाई दिएका छन् । यो रेकर्ड अहिले सरकारी निकायमा समेत छ । सरकारले छानबिन समिति बनाएर खोजी गर्ने हो भने रवि लामिछानेको संलग्नता स्पष्ट पुष्टि हुन्छ ।

घोटला रेकर्ड

  • लामिछानेका तर्फबाट सुप्रिम सहकारीका बचतकर्ताको १ करोड गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर
  • अहिलेसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड
  • साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख
  • बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको पुष्टि

 

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस