२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलात्कार मुद्दामा सन्दीप लामिछानेले सफाइ पाउने भेटियो बलियो प्रमाण

Sandeep Lamichane

काठमाडौं । लामो प्रतीक्षापछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसला नजिक छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दाले सम्भवतः यसै साता अन्दिम फैसला आउनेछ । धेरै पटक विभिन्न बहानामा सर्दै आएको फैसला सुनुवाइ आइतबार जिल्ला अदालतमा सुरु भएको थियो । न्यायाधीश ढकालले कुनै बहाना नखोजी सुनुवाइ थालेर मुद्दालाई हेर्दाहेर्दैमा राखे । यसको अर्थ अब दैनिक सुनुवाइ हुनेछ र ढकालले नै यो मुद्दाको फैसला गर्नेछन् ।

हिजो र आज सार्वजनिक बिदा भएकाले अदालत बन्द रह्यो । बुधबार सुनुवाइले निरन्तरता पाउनेछ । यसअघि नै दुवैतर्फका वकिलहरुले बहस नोट पेश गरिसकेको हुँदा बहस धेरै नलम्बिने अपेक्षा छ । यद्यपि, कानून व्यवसायीहरु धेरै भएकाले अझै कम्तीमा दुई दिन लाग्नसक्ने अदालत स्रोत बताउँछ । यो मुद्दाको फैसलामा जाहेरीकर्ता गौशाला २६ को उमेरलाई सबैभन्दा ‘निर्णायक’ ठानिएको छ । सन्दीपले गौशालामाथि जबरजस्ती सम्बन्ध राखेको कुनै पनि संकेत र प्रमाण नभेटिएको हुँदा उमेर नै प्रधान बन्न गएको हो । कानूनतः यदि जाहेरीकर्ता नाबालिग (१८ वर्षभन्दा कम) भएमा राजीखुशीले राखेको सम्बन्ध पनि बलात्कार ठहरिन सक्छ ।

वादी पक्षका वकिलले सन्दीपसँग भेट हुँदा गौशाला २६ उमेरले नाबालिग रहेको दाबी गरिरहेका छन् । प्रतिवादी पक्षले भने त्यसबेला उनको उमेर १८ कटिसकेको जिकिर गरेका छन् । दुवै पक्षले आआफ्नो दाबीलाई सहयोग पुग्ने कागजातहरु अदालतमा पेश गरेका छन् । सबै कागजात हेर्दा गौशालाका चार वटा फरक फरक जन्ममिति भेटिन्छन् । वादी पक्षको दाबीअनुसार गौशालाको जन्ममिति २०६२–०३–१८ हो । उनीहरुले यो जन्ममिति उल्लेख भएका तीन वटा डकुमेन्ट पेश गरेका छन् । ती डकुमेन्टमा गौशाला २६ ले दोस्रो पटक निकालेको जन्मदर्ताको प्रतिलिपि, नागरिकता र एसईईको प्रमाणपत्र छन् । यी तीन वटा डकुमेन्टमा जन्ममिति २०६२–०३–१८ लेखिएको छ । यसअनुसार गौशालाको उमेर सन्दीपलाई भेट्दा १७ वर्षमात्र थियो ।

यता प्रतिवादी पक्षले ११ वटा कागजात पेश गरेका छन्, जसमा गौशालाको जन्ममिति २०६१ साल उल्लेख छ । गौशाला जन्मेको नारायणी अस्पताल वीरगञ्जको रेकर्डमा जन्ममिति २०६१–०२–१८ लेखिएको छ । त्यसपछि उनले नुवाकोटको एउटा वडाबाट पहिलो जन्मदर्ता निकालेकी थिइन् । अस्पतालको रेकर्ड र पहिलो जन्मदर्तामा एक महिना फरक देखिन्छ । जन्मदर्तामा गौशालाको जन्ममिति लेखिएको छ, २०६१–०३–१८ । यही जन्ममिति अधिकांश डकुमेन्टमा छन् । काठमाडौंको शंकरापुरबाट गौशालाको परिवार नुवाकोट बसाइ सरेको थियो । बसाइसराइका लागि भरेको फारम र वडाको रेकर्डमा जन्ममिति २०६१–०३–१८ उल्लेख छ । यही जन्ममितिलाई प्रमाणीकरण गरेर वडा कार्यालयले अदालतलाई पत्रसमेत पठाएको थियो । त्यसअघि गौशालाको परिवारले शंकरापुरबाट लिएको बसाइसराइको पत्रमा पनि यही मिति उल्लेख छ । यही जन्ममितिलाई अदालतले सदर गर्‍यो भने सन्दीपले मुद्दामा सफाइ पाउन सक्नेछन् ।

 

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस