२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफू एमडी भएको कम्पनीले सहकारीबाट कानूनविपरीत ऋण लिँदा रवि जिम्मेवार हुन्छन् कि हुन्न् ?

काठमाडौं । ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानूनविपरीत दस करोड रूपैयाँ ऋण लिएको पाइएको छ। पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।

सूर्यदर्शन सहकारी ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडियाका सञ्चालक जिवी (गितेन्द्र राई) कै नेतृत्वमा खुलेको सहकारी हो। उनीविरूद्ध वचतकर्ताले उजुरी दिएपछि अहिले फरार छन्। सहकारीबाट गोरखा मिडियाले कानून मिचेर ऋण लिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमडी थिए। उक्त मिडियामा उनी सेयर धनी पनि थिए। त्यसैले यो प्रकरणमा उनीमाथि पनि प्रश्न उठेको छ।

सहकारीबाट ऋण लिने यी कानूनी व्यवस्थाहरूलेपनि उनी जिम्मेवार ठहरिन्छन्

नेपालको कानूनअनुसार कुनै पनि सहकारीले आफ्ना सदस्यको मात्र बचत स्वीकार गर्न पाउँछ। त्यस्तै ऋण पनि सदस्यहरूलाई मात्र दिन सक्ने प्रस्ट व्यवस्था कानूनमा छ। सहकारी ऐन–२०७४ को दफा ५० मा यो व्यवस्था उल्लेख छ। अर्थात् सहकारीमा सदस्यता भएका व्यक्तिले मात्र ऋण लिन पाउँछन्।

कम्पनी सम्बन्धी निर्देशिकाले गरेको व्यवस्था अनुसार पनि निजी कम्पनीले सहकारीको सेयर लिन पाउँदैन। अर्थात् निजी कम्पनीले सहकारीबाट ऋण लिन पाउँदैन। सैद्धान्तिक रूपमै सहकारी र कम्पनीको प्रकृति फरक भएकाले कानूनले दुवैबीचको सम्बन्ध र कारोबार छुट्ट्याएको वरिष्ठ अधिवक्ता मेघराज पोखरेल बताउँछन्।

ऐनले सहकारीका सदस्यहरूलाई मात्र बचत गर्न र ऋण दिन पाइने भनेको छ। कम्पनी सम्बन्धी निर्देशिकाले पनि कम्पनीले सहकारीमा सेयर राख्न नपाइने भनेको छ। यसो हुँदा सहकारीले निजी कम्पनीमा ऋण दिन पाउँदैन। कम्पनी सहकारीको सदस्य हुन पनि पाउँदैन। सरकारी र नाफामूलक निजी कम्पनीबीच ऋण वा सेयरको कारोबार भएको छ भने त्यो गैरकानूनी हो। यसबाट प्रस्ट हुन्छ — गोरखा मिडिया नेटवर्कले सहकारीबाट ऋण लिनु कानूनविपरीत हो।

अब प्रश्न उठ्छ, गोरखा मिडियाका एमडी रहिसकेका लामिछानेलाई कम्पनीले सहकारीबाट ऋण लिनु कानूनविपरीत हुन्छ भन्ने थाहा थिएन ? अर्को मुख्य विषय — कुनै पनि कम्पनीले कतैबाट ऋण लिनुअघि आफ्नो बोर्डबाट पास गराउनुपर्ने सामान्य नियम हुन्छ।

प्रश्न यो पनि उठ्छ — के उनलाई यति सामान्य कुरा पनि थाहा थिएन ? आफू सेयरधनी र एमडी भएको कम्पनीले कानूनविपरीत ऋण लिएको विषयमा लामिछानेको केही जिम्मेवारी हुन्छ कि हुन्न ? छानबिन समितिको प्रतिवेदनमा गोरखा मिडियाले लिएको एक करोड रूपैयाँ ऋण लामिछानेले तिरेको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ — रवि लामिछानेको नाममा पुलेसो कर्जा ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको।

छानबिन समितिका संयोजक तथा सहकारी विज्ञ दीपक प्रकाश आचार्यका अनुसार गोरखा मिडियाले २०७८ असार मसान्तमा लिएको एड्भान्स रकम लामिछानेले २०७९ असार मसान्तमा तिरेको देखिन्छ। लामिछानेले सूर्यदर्शन सहकारीबाट सोझै ऋण लिएको भने अहिलेसम्म देखिएको छैन। लामिछानेले यो ऋण आफैं लिएका हुन् कि होइनन्, आफैं तिरेका हुन् कि उनका नामबाट फर्जी खाता बनाएर तिरिएको हो भन्ने कुरा अझै प्रस्ट छैन। गोरखा मिडियाले लिएको ऋण लामिछानेले चलाएको हो कि होइन भन्ने बुझ्न उनको वित्तीय स्टेटमेन्ट हेर्नुपर्ने आचार्यले बताए।

 

 

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस