२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुटवल–पाल्पा सडक १०० दिनसम्म दैनिक ६ घण्टा बन्द गर्ने निर्णय

९ पुस, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ–जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । बैठकको निर्णयमा लेखिएको छ, ‘‘निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले मिति २०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरियो ।’

यो अवधिमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन सन्चालनमा भने रोक नलगाउन आयोजना कार्यालयलाई भनिएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ । आयोजना कार्यालयले सुरुङ मार्ग निर्माण गर्ने क्रममा टनेलको साउथ पोर्टल, नर्थ पोर्टल, बाइपास टनेल नम्बर १ र २ तथा स्लोप एरियाको काम गर्दा बाटो साँघुरो भएका कारण निर्वाध रुपमा यातायात सन्चालनकै अवस्थामा काम गर्न असहज भएको भन्दै सवारी साधन बन्द गर्न स्वीकृतिका लागि अनुरोध गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पुस १६ गतेदेखि सडक बन्द गर्ने र अपेक्षित नतिजा हासिल हुने गरी निर्माण कार्य गर्ने निर्णय भएको हो । राजमार्ग सुरक्षा समितिको बैठकले सडकमा उड्ने धुलोको कारण यात्रुहरुले सास्ती खेप्नु परेकाले सिद्धार्थ राजमार्गको सडक मर्मत खण्ड र तानसेन–रिडी सडकको जोर्ते खण्डमा डिभिजन सडक कार्यालयले पानी छर्किने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । यसैगरी तानसेन–रानीमहल सडकखण्डको केही स्थानहरुमा फलामका छडहरु बाहिर निस्किएकाले सडक पूर्वाधार विकास कार्यालयले मर्मत सम्भारको व्यवस्था मिलाउने लगायतका निर्णय समेत भएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस