२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूजा चौधरीको दाइजोका कारण हत्या भएको दाबी, ३ लाख भारु र जिन्सी लिएर थप दहेजको दबाब

Claim that Pooja Choudhary was killed due to dowry

जनकपुरधाम । दाइजोकै निहुँमा सिरहाको लहान नगरपालिका २२ जहदीमा एक महिलाको विवाह भएको एक वर्ष नबित्दै हत्या भएको आरोप माइत पक्षले लगाएको छ । पुस ४ मा अन्दाजी २२ वर्षीय पूजा चौधरीलाई लहानकै सप्त ऋषि अस्पतालले मृत घोषणा गरेको थियो । तर उनको मृत्यु शंकास्पद छ ।

पूजाको हत्या दाइजोका कारण उनकै श्रीमान् राजाराम साह, ससुरा फूल कुमार, सासू सुनिता देवी र नन्द चन्द्रिका कुमारीले गरेको आरोप माइत पक्षको छ । छोरी पूजाको हत्यामा संलग्नलाई कारबाहीका लागि उनका बुबा सम्पत्ति चौधरी प्रहरी प्रशासन धाइरहेका छन् । तर प्रहरीले उनको जाहेरी लिन तयार छैनन् ।

पूजाको मृत्युबारे ससुरा पक्षले प्रहरी र माइत पक्षलाई फरक फरक ब्यहोरा बताएका कारण पनि घटना शंकास्पद देखिएको छ । पूजाको मृत्यु भइसकेपछि ससुरा पक्षले एम्बुलेन्स बोलाएर लहानकै सप्त ऋषि हस्पिटल लगेको थियो । अस्पतालको रिपोर्टले पनि पूजाको मृत्यु अस्पताल लग्नु अगावै भएको देखिन्छ ।

पूजा बिरामी परेको भन्दै उनका मामा दिनेश साहलाई अस्पतालबाट छिमेकी रेखा साहले फोन गरेकी थिइन् । तर पूजाकी नन्द चन्द्रिकाले झुन्डिएको भनेर प्रहरीमा बयान दिएपछि घटना रहस्यमयी देखिन्छ । अस्पतालबाट पूजाकी छिमेकी रेखाले फोन गरेपछि लहान घर भएका उनका मामा दिनेश हतार हतार अस्पताल पुगेका थिए । अस्पताल पुग्दा भान्जी पूजालाई चिकित्सकले मृत घोषणा गरिसकेको थियो– दिनेशले बताए ।

उनले भने, ‘अस्पताल पुग्दा भान्जी पूजाको मृत्यु भइसकेको थियो । तर उनकी छिमेकी रेखाले मसँग झुटो बालेर अस्पताल बोलाइन् ।’ रेखाले घटनालाई ढाकछोप गर्न खोजेकी थिइन्’, दिनेशले भने ।

‘अस्पताल पुग्दा भान्जी पूजाकी छिमेकी रेखासँगै उनका अन्य मानिसहरू पनि थियो’, दिनेशले भने, ‘त्यहाँ उनीहरू पूजा मंगलवारी व्रत बसेकी थिइन् र रिंगटा लागेर आँगनमा खसेपछि अस्पताल ल्याउँदा मृत्यु भयो भनेर सुनाए । तर घर पुग्दा भान्जी पूजाको नन्दले झुन्डिएको अवस्थामा देखेपछि डोरी काटेर उनलाई अस्पताल पठाएको भनिन् ।’

अस्पताल पुर्‍याउने छिमेकी र पूजाको नन्दको कुरामा फरक परेपछि पनि घटना शंकास्पद देखिएको दिनेशको भनाई छ । उनले भने, ‘यो घटनालाई शंकास्पद पनि कसरी भन्ने ? परिवारका सबैले मिलेर हत्या गरेछन् ।’ उनका अनुसार थप दाइजो माग्दै पूजालाई श्रीमान्, सासू, ससुरा र नन्दले पटक पटक यातना दिएको थियो । केहि दिन अगाडी सिरानी मुखमा कोचेर निर्घात कुटपिट गर्दा भान्जी पूजाको उपचार हामीले गराएका थियौँ,’ उनको भनाई छ ।

०८० वैशाख २० (२०२३ मई ०३) मा सामाजिक परम्परा अनुसार भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने राजनगरकी पूजाको विवाह राजारामसँग भएको थियो । विवाहमा २ लाख भारु (नेपाली ३ लाख २० हजार) नगद र सरसामान दिएको पूजाका बुवा सम्पत्तिले बताए ।

उनका अनुसार विवाह गरेर लगेको केहि महिना नबित्दै थप दाइजोका लागि छोरीलाई यातना दिन थाल्यो । पटक पटक कुटपिट गर्न थालेपछि थप ८० हजार रुपैयाँ गएर सम्धी ९पूजाकी ससुरा०लाई दिएको थिए । तर थप ३ लाख २० हजार रुपैयाँ माग्न थाल्यो । सम्पत्तिले जाहेरीमा लेखेका छन्, ‘सोफोसेट, गोदरेज, फ्रिज र व्यवसाय गर्नका लागि २ लाख भारु (३ लाख २० हजार नेरु) मागेर ल्याऊ अनि मात्र घरमा राख्छु भनेर छोरीलाई दबाब दिन थाल्यो । मेरो घरको अवस्था कमजोर रहेकाले छोरीले यो कुरा हामीलाई नबताई हिंसा भोग्दै आएकी थिइन् । एक हप्तादेखि यातना दिँदै पौष ४ मा मेरो छोरीको हत्या गरियो ।’

घाँटी च्यापेर छोरी पूजाको हत्या गरेकोले संलग्न उनका श्रीमान्, सासू, ससुरा र नन्दलाई मुलुकी अपराध फौजदारी संहिता १७७ र १८० बमोजिमको कसुर अपराध अन्तर्गत कर्तव्य ज्यान मुद्दा चलाई हदैसम्मको कारबाही गर्न सम्पत्तिले माग गरेका छन् । उनले पटक पटक इलाका प्रहरी कार्यालय पुगेर जाहेरी दर्ता गराउन खोज्दा पनि प्रहरीले नमानेको गुनासो गरे । उनले भने, ‘दाइजोकै निहुँमा छोरीको हत्या गरिएको छ । तर प्रहरीले घटनाको छानबिन पनि गर्न चाहेको छैन । न्यायका लागि हजुरहरूले पहल गरिदिनपर्‍यो ।’

यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अभिनाश अधिकारीले मृतक पूजाको पोष्टमार्टमको रिपोर्ट कुरेर बसेको र रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्न सकिने बताए । घटना विषयमा अनुसन्धान भइरहेको र फोनमा सबै कुरा भन्न नमिल्ने उनको भनाई छ ।

 

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस