२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिसमसमा लगातार ३ दिन बिदा दिने निर्णय, एकै पालिकामा १०० वटा चर्च, चारजना वडाध्यक्ष नै पास्टर

Decision to give 3 consecutive days off for Christmas

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमा लगातार तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस निर्णयको तीव्र आलोचना भइरहेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल भने निर्णय नसच्याउने अडानमा छन् ।

सरकारले क्रिसमसका अवसरमा भोलि सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । तर, राक्सिराङले भने आजैबाट तीन दिन क्रिसमसको बिदा दिएको हो । उल्लेखनीय के भने उधौली पर्वका अवसरमा १० गते सरकारले दिएको सार्वजनिक बिदालाई यो गाउँपालिकाले कार्यान्वयन गरेको छैन । १० गते पनि क्रिसमसकै बिदा दिइएको छ ।

कार्यपालिका बैठकले एकमतबाट क्रिसमसको तीन दिन बिदा दिने निर्णय गरेको अध्यक्ष मल्लले बताए । अघिल्ला वर्षहरुमा पनि एक दिनभन्दा बढी बिदा दिने गरेको उनको भनाइ छ । दुई दिन सरकारले नै सार्वजनिक बिदा दिएको छ । हामीले एक दिन अतिरिक्त दिएका हौं’, उनले भने, ‘२०७४ सालदेखि नै हामीले दुई दिन बिदा दिने गरेका थियौं ।’

आफ्नो गाविसमा क्रिश्चियन धर्मको बलियो प्रभुत्व रहेको र पैसा खर्चेर धर्मान्तरण हुने गरेको गाउँपालिका अध्यक्ष मल्ल स्वीकार्छन् । उनका अनुसार गाउँपालिकाभित्रै करिब १०० वटा चर्च निर्माण भएका छन् । चार जना वडाध्यक्ष नै क्रिश्चियन धर्मावलम्बी रहेको पनि उनले बताए । कार्यपालिकामा चार जना वडाध्यक्ष नै पास्टर हुनुहुन्छ । उहाँहरुले दुई दिन त सरकारी बिदा नै भयो, एक दिन थपौं न भनेपछि नाई भन्न सकिएन’, अध्यक्ष मल्लले भने । क्रिसमसमा तीन दिन बिदा दिँदा कसैले पनि चित्त दुःखाउनु नपर्ने समेत उनी बताउँछन् ।

‘हाम्रो दशैँतिहारमा पनि त धेरै दिन बिदा दिइन्छ, उहाँहरुले चित्त दुःखाउनुहुन्न । उहाँहरुको चाडमा पनि हामीले खुशीले बिदा दिएका हौं’, उनले भने । गाउँपालिका अध्यक्ष भने हिन्दू धर्मावलम्बी नै हुन् । राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको उल्लेख्य उपस्थिति छ । आर्थिक रुपमा विपन्न अधिकांश चेपाङहरुले आर्थिक प्रलोभनमा परेर धर्मान्तरण गरेका छन् । क्रिश्चियन धर्ममा लागेपछि उनीहरुको आर्थिक अवस्था र चालचलन दुवै सुध्रिएको गाउँपालिका अध्यक्षको दाबी छ ।

‘पहिले पहिले जाँडरक्सी खाएर लम्पसार हुन्थे । घर फोहोर हुन्थ्यो । क्रिश्चियन भएपछि उनीहरुले जाँडरक्सी खान छोडेका छन् । बोल्नमा ट्यालेन्ट र सफासुग्घर पनि भएका छन् । आर्थिक राहत पनि पाइरहेका छन् । मैले त सकारात्मक रुपमा नै लिएको छु’, उनले भने ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस