२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने पीडै-पीडाले देशभित्रै थाकिसकेका व्यक्ति !

७ पुस, पोखरा । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्वोधन थालेको ५ मिनेटमात्र भएको थियो । उनी देशैभरि कलकारखाना बन्द भइरहेको, सटरहरु बन्द भइरहेको, व्यवसायी पीडामा रहेको बताइरहेका थिए । त्यही बेला दर्शन दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समाते । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरे ।

‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने फूल दिएर उहाँलाई घर पु¥याइदिनुहोला’ रविले भने, ‘सुरक्षाकर्मी साथीहरु मैले यतिञ्जेलसम्म विन्ति गरें, देशको पूर्व उपप्रधान तथा गृहमन्त्री भएका आधारले तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पु¥याइदिनुस् । यत्ति अधिकार मलाई दिनुहोला । रविले आफूलाई लक्षित गरी हानिएको मकैको खोया मगाए । त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएको बताए ।’

अनि पोखरामा भएको सहकारीको समस्याबारे बोले । उनले कुनै पनि अपचलनमा आफू सहभागी नभएको स्पष्टीकरण दिए । किनकी जीबी राई नेतृत्वको समूहले खोलेको सूर्यदर्शन सहकारीले सार्वसाधारणको रकम अपचलन गरेको छ । र, राजनीतिमा आउनु अघि रवि एउटा टीभीमा थिए, जसमा जीबी राई र उनको समूहको लगानी थियो । शनिबार रविमाथि खोया प्रहार गर्ने व्यक्ति सूर्य दर्शनको बचतकर्ता भएको चर्चा भएपनि प्रहरीले इन्कार गरेकोे छ ।

रविले कास्की प्रहरी प्रमुख एपी मोहन थापालाई फोन गरेको भिडियो समेत सार्वजनिक गरेका छन्, जसमा कास्की प्रहरी प्रमुख थापाले पक्राउ परेका व्यक्तिलाई मिडियाकर्मीसँग भेट्न नदिइएको र उनी सहकारी पीडिट पनि नभएको दाबी गरेका छन् । कास्की प्रहरी प्रमुख थापाका अनुसार रास्वपा सभापति रविमाथि मर्कैैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट हुन् ।

रानाभाटलाई हिरासतमा राखेर उनको विषयमा अनुसन्धान भइरहेको छ । ‘घरको अवस्था के हो ? जन्म दर्ता, भोटर्स कार्ड सबै मगाएका छौं,’ एसपी थापाले भने, ‘उहाँ (रवि लामिछाने)को तर्फबाट छुटिसकेको हो । हाम्रो प्रहरीको अनुसन्धान बाँकी छ, प्रहरीको कर्तव्य बाँकी छ । राइनास नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार खोया प्रहार गर्ने सन्तोष राजनीतिक आस्था राख्ने व्यक्ति होइनन् । उनले पहिले अटोसमेत चलाउने गरेका थिए ।

२ वर्षअघिदेखि पोखरा बस्न थालेको जानकारी पाएको वडाध्यक्ष कृष्णबहादुरले बताए । जागिर गर्न भनेर भारत हिँडेका उनका बुबा ३५ वर्षदेखि वेपत्ता रहेको, आमा पनि साथमा नरहेको र अहिले श्रीमती तथा बच्चा साथमा नभएको वडाध्यक्ष रानाभाटले बताए । उनले सूर्यदर्शन सहकारीमा रकम जम्मा गरेको हुनसक्ने भएपनि एकिन जानकारी नभएको उनले बताए ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस