२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनमा १३ वर्षपछि सबैभन्दा विनाशकारी भूकम्प, १२० जनाभन्दा बढीको मृत्यु

China's most devastating earthquake in 13 years

काठमाडौं । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा १२६ जनाको मृत्यु हुनुका साथै ७०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। गान्सु प्रान्तमा मध्यराति गएको ६.२ म्याग्निट्यूडको भूकम्प १३ वर्षमा चीनमा गएको सबैभन्दा विनाशकारी भूकम्प हो।

गान्सु र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ। कठ्याङ्ग्रिँदो जाडोमा ७०० जनाभन्दा बढी मानिस घाइते भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले उक्त भूकम्प रिक्टर स्केलमा ५.९ भएको र त्यो जमिनको सतहभन्दा १० किलोमिटरमुनि उत्पन्न भएको जनाएको छ।

त्यहाँ कम्तीमा १० वटा परकम्प मापन गरिएको अधिकारीहरूले बताएका छन्। गान्सुमा ठूलो भूकम्प गएको केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि दोस्रो झट्का महसुस गरिएको थियो। तर ५.५ म्याग्निट्यूडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

आपत्कालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनमा गरिबी धेरै भएका इलाकाहरूमध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्। त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सिअसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

भिडिओ फुटेजहरूमा घाइतेहरूलाई अस्पताल पुर्‍याउँदै गरिएको र उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूमा मानिसहरूको खोजी गरिरहेको देख्न सकिन्छ। सरकारले स्थानीय उद्धारकर्ताहरूलाई सहयोग गर्न थप जनशक्ति पठाएको छ। राष्ट्रपति सीले वक्तव्यमा उद्धार र खोजी, समयमै घाइतेको उपचार र हताहत हुनेको सङ्ख्या न्यून गर्न आवश्यक सबै प्रयास गर्न निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार गान्सुमा १०५ जना र चिन्खाई प्रान्तमा १३ जनाको मृत्यु हुनुका साथै दुवै प्रान्तमा २६६ जना घाइते भएका छन्। कम्तीमा २० जना सम्पर्कविहीन भएका छन्। ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको विवरणहरूमा जनाइएको छ।

गान्सुमा मात्र झन्डै ५,००० वटा भवन भत्किएको अधिकारीहरूले बताएका छन्। भूकम्पपीडितहरूलाई आश्रय दिन विभिन्न स्थानमा अस्थायी शिविर बनाइएको छ। भूकम्पबाट प्रभावित दुई प्रान्तमा राहत वितरणका लागि २.८ करोड डलर छुट्ट्याइएको अधिकारीहरुले बताएका छन्।

दक्षिणपश्चिम प्रान्त सिचुवानमा गत सेप्टेम्बरमा ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा ६० जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो। सन् १९२० मा गान्सुमा गएको भूकम्पमा दुई लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो। त्यसलाई २० औँ शताब्दीको विश्वकै घातक भूकम्पमध्ये एक मानिन्छ। तिब्बत र लोएस पठारका बीचमा अवस्थित गान्सु प्रान्त मङ्गोलियानजिकै पर्छ। गान्सुमा उद्धारमा संलग्न एक अधिकारीले ग्रामीण भेगमा माटोबाट बनेका पुराना घरहरू भत्किएकाले ठूलो क्षति पुगेको बताएका छन्। उनका अनुसार प्रभावित क्षेत्रमा झन्डै ८० प्रतिशत घरहरू बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन्।

 

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस