२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै चार सन्तान हत्याको दोषमा २० वर्ष जेल बसेकी महिला निर्दोष ठहर

A woman who spent 20 years in prison for murdering her four children was acquitted

काठमाडौं । आफ्नै चार बच्चाको हत्या गरेको आरोपमा २० वर्ष जेलमा बसेकी अस्ट्रेलियाली महिलालाई अदालतले निर्दोष ठहर गरेको छ । न्यु साउथ वेल्स राज्यको सर्वोच्च अदालतले क्याथलिन फलबिगलाई दोषी ठहर गर्न जुटाइएको प्रमाण विश्वसनीय नभएको फैसला दिएको छ ।

५६ वर्षीया उनलाई राज्य सरकारले गत जुन महिनामा माफी दिएर जेलमुक्त गरेको थियो । फलबिगले आफ्नो निर्दोषितालाई दशकौँसम्म बेवास्ता गरिएको बताइन् । ‘बच्चाहरु कहिलेकाहीँ अचानक र अनपेक्षित रुपले बित्छन् भन्ने कुरा स्वीकार नगरी व्यवस्था मलाई दोष दिनतिर लाग्यो,’ बिहीबार अदालतबाहिर उनले भनिन् ।

एक दशकभन्दा लामो अवधिमा क्याथलिन फलबिगले छोराहरु कालेब र प्याट्रिक तथा छोरीहरु सारा र लौराको हत्या गरेको आरोप लागेको थियो। त्यसपछि जुरीले उनलाई दोषी ठहर गरेको थियो । उनलाई ‘अस्ट्रेलियाकै खुंखार सिरियल किलर’ भनिएको थियो। त्यसयताका २० वर्ष उनले जेलमा बिताइन् ।

तर, अहिले भएको छानबिनमा ती बच्चाहरुको मृत्यु प्राकृतिक हिसाबले भएको विश्वास वैज्ञानिकहरुले व्यक्त गरेका छन् । यी ५५ वर्षीया महिलाको मुद्दालाई अस्ट्रेलियाको सबैभन्दा ठूलो न्यायको हत्याका रुपमा चित्रित गरिएको छ । सन् २००३ मा उनीविरुद्ध सजाय तोकिएको थियो । चार बच्चाको हत्यामा दोषी ठहर गर्दै उनलाई ४० वर्ष जेल सजाय तोकिएको थियो । पछि त्यसलाई ३० वर्षमा झारिएको थियो ।

उनका चारै बच्चाको १९८९ देखि १९९९ का बीचमा अचानक मृत्यु भएको थियो । ती बच्चाहरु १९ दिनदेखि १९ महिनासम्मका थिए । उनले सास थुनेर ती बच्चाहरुको ज्यान लिएको सरकारी वकिलहरुले आरोप लगाएका थिए । तर, ती बच्चाहरुको शरीरमा सास थुनेको अथवा चोटको कुनै निसान भने थिएन ।

बरु, मुद्दाको सुनुवाइ परिस्थितिजन्य प्रमाणहरुमा केन्द्रित थियो । खासगरी फलबिगको डायरीलाई आधार बनाइएको थियो । जहाँ उनले आमाको भूमिका पूरा गर्न निकै संघर्ष गर्नुपरेको उल्लेख गरेकी थिइन् । तर, अवकाशप्राप्त न्यायाधीश टम बाथर्स्टको नेतृत्वमा गरिएको एक छानबिनपछि ती बच्चाहरुको मृत्युका विषयमा आफूहरुको धारणा परिवर्तन भएको सरकारी अभियोक्ताहरुले स्वीकार गरेका छन् ।

उनका मृत छोरीहरुमा सीएएलएम२ जी११४आर नाम जिनेटिक म्युटेसन रहेको र त्यसले अचानक हृदयाघातबाट उनीहरुको मृत्यु हुनसक्ने प्रतिरक्षा प्रणाली विज्ञहरुले बताएका छन् । त्यस्तै, छोराहरुमा पनि फरक खालको जिनेटिक म्युटेसन रहेको र त्यसले मुसामा अचानक छारेरोग सुरु गराउने देखिएको थियो । पछिल्लो छानबिनमा विज्ञहरुले ती डायरी संघर्षरत आमाको भावना पोख्ने ठाउँ मात्र भएको र बिनाकुनै चिह्न चार बच्चाको हत्या गर्न असम्भवप्राय रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस