२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मीमा ३०० बढी एचआइभी सङ्क्रमित, एउटै गाउँमा ६२ जना

१ पुस, गुल्मी । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।

सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको उनको भनाइ छ । एआरटीको तथ्यांकअनुसार एउटै गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेका छन् । त्यहाँका २२ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् ।

अर्को एक गाउँपालिकामा ४६ जना सङ्क्रमित रहेकोमा १९ जनाले मात्रै जिल्लाबाट एआरटी सेवा लिएका छन् भने ४१ जना संक्रमित रहेको अर्को पालिकाका २७ जनाले उक्त सेवा लिएका छन् । यस्तै ३८ जना सङ्क्रमित रहेको एक पालिकाबाट २५ जना र ३५ जना सङ्क्रमित रहेको पालिकाबाट १८ जनाले एआरटी सेवा लिएका छन् ।

जिल्लाको सबैभन्दा कम संक्रमित रहेको पालिकामा पाँच जना संक्रमित छन् । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् । यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरू, जीवनसाथी, कैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको घिमिरेले जानकारी बताए ।

 

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस