धनगढी । डा. गोविन्द केसीले सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन्।
गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन्।
सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्। सत्याग्रह सुरु गर्न शुक्रबार नै श्री एयरलाइन्सको जहाजबाट डा. केसी धनगढी आएका थिए।
स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क÷सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँचका तथा सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको डा . केसिले बताएका छन्। बारम्बार धोका दिई रहेको उनको भनाई छ। देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको, दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरू आफैँ दलीय भागबन्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरू पार्टी कार्यकर्ताहरूका भर्ती केन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्य च्युत बनाएको उनले उल्लेख गरेका छन्।
राज्यका हरेक अं गमा दलीय करण भएको, नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरूलाई डुबाएर नेताहरु आफैँ व्यवसाय गर्नमा लिप्त भएको र नयाँ सरकारी संस्थाहरू खोल्न नदिइरहेको केसीको भनाई छ।
धेरैको रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ भने केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था रहेको उनले भनेका छन्। डा. केसीले मुख्य २ बुँदामा आफ्ना माग उल्लेख गरेका छन्। सशस्त्र द्वन्द्व कालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।
डा. केसीलाई गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह बस्न स्थानीयले दिएनन्। स्थानीयले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला डा. केसीको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनु पर्ने माग राखेकाले संघर्ष समितिले गेटामा अनसन बस्न नदिएको हो। उनलाई गेटाको मूल गेट भित्रै प्रवेश गर्न दिएका थिएनन्। गेटामा प्रवेश नपाएपछि उनी धनगढी फर्केका हुन्। गेटामा उनलाई अवरोध भएपछि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी डा. केसीले धर्मशालामा अनसन सुरु गरेका हुन्।
सत्याग्रहका मागहरू
सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने उनको माग छ। यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने, एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन्।