२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालत, अख्तियार, सम्पत्ति शुद्धीकरण सबैबाट छुटेर घर गए बालकृष्ण खाँण, उनका लागि रातिसम्म सरकारी काम

Bal Krishna Khand

२९ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रबार आदेश दिएको थियो । तर, प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग र आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन् ।

शुक्रबार अबेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले त्यसअनुसारको बैंक ग्यारेन्टी जम्मा गरिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रबार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत, काठमाडौं पुगेका थिए । लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएको थियो ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो । भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो ।

त्योविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत, पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । खरेलले तत्काल उनी निर्दोष छन् आधारहरु नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए । त्यसपछि बिहीबार तेस्रो न्यायाधीश कहाँ पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस