२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानन्यायाधीशलाई महिला न्यायाधीशको पत्र, जिल्ला न्यायाधीशले मलाई राति बोलाए

काठमाडौं । भारत, उत्तर प्रदेशका एक कनिष्ठ न्यायाधिशले भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडलाई इच्छामृत्युको माग गर्दै पत्र लेखेकी छन् । महिला न्यायाधीशले वरिष्ठ न्यायाधीशमाथि ‘यौन उत्पीडन’ को आरोप लगाउँदै आफूले न्याय पाउन नसकेको भन्दै यस्तो माग गरेकी हुन् । पत्रमा उनले जिल्ला न्यायाधीशले आफूमाथि यौन दुव्र्यवहार गरेको र राति भेट्न दबाब दिएको आरोप लगाइन् ।

उनले २०२२ मा इलाहाबाद उच्च न्यायालयका मुख्य न्यायाधीश र त्यसपछि प्रशासनिक न्यायाधीशसमक्ष उजुरी गरिन् । तर राहत पाइनन् । महिला न्यायाधीशले जुलाई २०२३ मा आन्तरिक गुनासो समितिमा पनि उजुरी गरेकी थिइन् । आफ्नो पत्रमा महिला न्यायाधीशले लेखेकी छिन्, ‘हजारौं इमेल र ६ महिनापछि अनुसन्धान सुरु हुन सक्छ ।’ उनले अनुसन्धान पूरा नभएसम्म जिल्ला न्यायाधीशको सरुवा गर्न माग समेत गरेकी छन् ।

उजुरीकर्ता न्यायाधीशले यस मुद्दाका साक्षी जिल्ला न्यायाधीशका कनिष्ठ कर्मचारी भएकाले आफ्नो पदमा रहँदा स्वतन्त्र रूपमा आफ्नो धारणा राख्न नसक्ने गुनासो गरेकी छिन् । उनले जिल्ला न्यायाधीशको सरुवाका लागि सर्वोच्च अदालतमा निवेदन समेत दिएकी थिइन् । तर उनको निवेदन ८ सेकेन्डमै खारेज भएको आरोप उनको छ ।

चन्द्रचुडलाई लेखेको पत्रमा महिला न्यायाधीशले लेखेकी छिन्, ‘अब यो अनुसन्धान सबै साक्षी जिल्ला न्यायाधीशको नियन्त्रणमा हुने गरी सञ्चालन हुनेछ । हामी सबैलाई यस्तो अनुसन्धानको नतिजा थाहा छ ।’ आफ्नो पत्रमा महिला न्यायाधीशले यी सबै कारणले अब बाँच्ने इच्छा नरहेको तर्क गरेकी हुन् । महिला न्यायाधीशले लेखेकी छिन्, ‘पछिल्लो डेढ वर्षमा म जिउँदो लाश बनेको छु । मेरो जीवनमा अब कुनै उद्देश्य बाँकी छैन।’ सोही कारणले सर्वोच्च अदालतमा इच्छामृत्युको माग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस