२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डेरीको लापरबाही : दूधमा कपाल, माटो र बालुवाका कण

२८ मंसिर, काठमाडौं । उपभोक्ताका लागि दैनिक उपभोग्य शक्तिवर्धक पेय पदार्थ दूधको गुणस्तरमा डेरी सञ्चालकहरुले गम्भीर लापरबाही गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको पछिल्लो एक सातामा गरेको बजार अनुगमनमा उपभोक्ताका लागि बजार पठाइने दूधमा कपाल, माटो र बालुवाका कणहरु पाइएको हो ।

यस्तै उपभोक्ताका लागि म्याद सकिएको दूध पुनः प्याक गरेर बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी एवम् प्रवक्ता आनन्द पोखरेलकाअनुसार बिहीबार ललितपुरको मिल्क टुडेको फ्याक्टी अनुगमनका लागि विभागको टोली पुगेको थियो ।

अनुगमनका क्रममा म्याद सकिएर बजारबाट उठाइएको दूधका प्याकेटलाई धुलो, हिलो र फोहोरसहित पुनः पास्चराइज्ड गर्न लागिएको अवस्थामा विभागले फेला पारेको थियो ।

‘करिब ७ सय लिटर हारहारी दूधमा कपालको रौं, माटो, बालुवाको कण र दूधका फोहोर प्याकेटहरु थिए,’ पोखरेलले भने, ‘म्याद सकिएको खान नमिल्ने दूधलाई पुनः बजारमा पठाउन लागिएको अवस्थामा जफत गरेर नष्ट गरिएको छ ।’ डेरी उद्योगलाई पहिलो पटक भनेर ३ लाख रुपैयाँ जरिवाना गरिएको पनि पोखरेलले बताए ।

पोखरेलका अनुसार पछिल्लो समय बजार अनुगमनका क्रममा दुग्ध क्षेत्रमा मानव स्वास्थ्यमा असर पर्ने गम्भीर किसिमका हेलचेक्रयाइँहरु देखा परेका छन् । यसै साता विभागले अनुगमन क्रममा २५ मंसिरमा भक्तपुरको आधुनिक डेरीले उपभोग्य म्याद नै नराखी पुरानो दूध बिक्री गर्ने गरेको फेला परेको थियो ।

उपभोग्य मिति सकिएको, लेबल उल्लेख नभएको जस्तो गम्भीर कसुर गरेर दूध बिक्री गर्ने उद्योगलाई विभागले ३ लाख जरिवाना गरेको थियो । यस्तै, २७ मंसिरमा भक्तपुरका थप ३ वटा डेरीले उस्तै प्रकृतिको कसुर गरेको वाणिज्यको अनुगमनमा फेला परेको प्रवक्ता पोखरेलले बताए ।

उत्पादन तथा उपभोग्य मिति उल्लेख नगरेको, पुरानो दूधलाई पुनः पास्चाइज्ड गरेर बजार पठाउन लागेको तथा पसल दर्ता समते नगरी सञ्चालन गरेको कसुरमा डेरी उद्योग फेला परेका थिए । जसमध्ये २ वटा उद्योगले म्याद गुज्रेको तथा लेबल उल्लेख नगरेको दूध बजारमा पठाउने गरेको कसुरमा जनही २/२ लाख जरिवाना तिराइएको थियो । यस्तै, दर्ता विनै सञ्चालनमा रहेको एक उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस