२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सीता-राम विवाह पञ्चमी: आज दोस्रो दिन फूलवारी लीला, भगवान राम र सीताको भेट !

Sita-Rama marriage

जनकपुरधाम । साताव्यापी सीता-राम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज दोस्रो दिन ‘फूलवारी लीला’ मनाइने तयारी गरिएको छ । त्रेतायूगमा भगवान राम र सीताको विवाह अघि पहिलोपटक मिथिलाको राजधानी जनकपुरधामस्थित फूलवारीमा भेट भएको सम्झनामा ‘फूलबारी लीला’ मनाइन्छ । ‘फूलवारी लीला’को तयारी पुरा भएको जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए ।

उनका अनुसार जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपको बगैचामा ‘फूलवारी लीला’ कार्यक्रम आज दिउँसो ४ बजेबाट सुरु हुनेछ । बगैचामा माता सीता फूल टिप्न पुगेको बेला भगवान रामसँग भेट हुनेछ । मिथिलाको परम्परा अनुसार मैथिली गीत, नादसहित भगवान् राम, सीता र लक्ष्मणको प्रतीक झाँकी बनाएर फूलबारीमा भेटघाट गराइनेछ । यो दृष्य हेर्न हजारौं श्रद्धालु र साधुसन्तको भीड हुन्छ ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन हिजो जानकी मन्दिरमा ‘नगर दर्शन’ विधि सम्पन्न गरियो । तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर गरिनेछ । छैटौं दिन अर्थात् पुस १ गते सीता-राम स्वयम्वर तथा शुभविवाह र सातौं दिन (रामकलेवा) कार्यक्रम तय गरिएको छ । विवाह पञ्चमी महोत्सवलाई जनकपुरधामबासी सबभन्दा ठूलो उत्सवको रुपमा मनाउँछन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमीको दिन दिपावली मनाउन नगरबासीसंग अपिल गरेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस