२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बस चोरेर १७ वर्षे बालकले पोखराबाट चितवन पुर्याएको तथ्य भेट्दा प्रहरी नै चकित

The police were surprised to find the fact that a 17-year-old boy stole a bus and took it from Pokhara to Chitwan

 

पोखरा । ग१ख ९६३८ नम्बरको बस शुक्रवार साँझ पोखरा आइपुग्छ । ड्राइभरले उक्त बस पोखरा पृथ्वी चोकमा पार्किङ गर्छन् र आफू सुत्न जान्छन् । ड्राइभर उठ्न नपाउँदा फोन आउँछ । भर्खरै पोखरा गएको बस चितवनमा देखेपछि अरू बस चालकले ‘यसको त पालो होइन, किन आयो’ बस मालिकलाई फोन गर्छन् । बस मालिकले ड्राइभरलाई फोन गर्छन् । ड्राइभरले राती पार्किङ गरेको ठाउँमा बस हुँदैन । उनी अल्लमल्ल पर्छन् । र प्रहरीलाई खबर गर्छन् ।

प्रहरीको खोजतलासपछि बस शनिवार बिहान भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा फेला पर्छ । बसको चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय बालक थिए । बससहित उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ । प्रहरीका अनुसार चालक १७ वर्षीय बालक थिए । ढिलो जानकारी हुँदा चितवन पुगेपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले बताए । ‘साढे ३ बजे पछि मात्रै हामीलाई खबर आयो । त्यसपछि सबैतिर खोजतलासमा लाग्यौँ । साढे ६ बजेतिर फेला प¥यो,’ उनले भने, ‘पोखरामा ल्याएर बैदाममा राखेका छौँ । अहिले जिल्ला अदालत कास्कीमा चोरी तथा डाँका सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार बस चलाएका बालकसँग चालक अनुमति पत्र थिएन । ‘सहचालक ब्याकग्राउण्डका रै’छन् । चलाउन जानेका रै’छन् । शनिवार बिहान करिब १ बजेतिर यहाँ (पोखरा) बाट लगेका रै’छन् । साढे ३ बजेतिर चितवनमा फेला परेका हौँ,’ उनले भने ।

बस बालकले कास्की, तनहुँ हुँदै चितवन पुर्‍याएका थिए । चालक अनुमति पत्र (लाइसेन्स) बिना बस चोरेर २ जिल्ला पार गर्दै अर्को प्रदेश प्रवेश गर्दा समेत प्रहरीले पक्राउ गर्न सकेन । बिहानीपख चेकिङ कम हुँदा बालकले बस चितवन लग्न सफल भएको कास्कीका एसपी थापाले बताए । उनले भने, ‘बिहानी समयमा चेकिङ कम हुने भएकाले, गाडीहरू कम चल्ने भएकाले चितवन लग्न सकेको थियो ।’

रातीको समयमा निश्चित ठाउँमा मात्रै चेकिङ हुँदा छलेर चितवन पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी डिएसपी रामकुमार दानीले बताए । ‘चेकजाँच त हुन्छ । तनहुँमा ठाउँ ठाउँमा हुन्छ, चितवनमा पनि हुन्छ । सूचना ढिलो आउँदा पनि ढिलो छोपिएको हो । अर्को कुरा रातीको समयमा थोरै कम चल्ने भएकाले निश्चित ठाउँमा मात्रै चेकिङ हुन्छ । त्यसैले पनि त्यो छलेर चितवन पुगेको हुनुपर्छ,’ उनले भने । गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले बालकले चलाएको की अरू कसैले चलाएको भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘चितवनमा पक्राउ गरेर बैदाममा लिएर राखेका छौँ । अहिलेसम्म आफैले चलाएको भनेर बयान दिएको छ,’ उनले भने, ‘बालकले नै चलाएर लग्यो की अर्कैले चलाएको हो अनुसन्धानको विषय हो । अनुसन्धान भइरहेको छ ।’

बालक पहिला पनि विभिन्न चोरीको मुद्दामा पक्राउ परिसकेको वरिष्ठ उपरीक्षक चौधरीले सुनाए । उनले भने, ‘बालक पहिला पनि तनहुँमा सुन चोरीमा पक्राउ परेको रै’छ । अरू दुईतीनटा मुद्दा पनि उ विरुद्ध रै’छ । २ जिल्ला पार गर्दा पनि बाटोमा चेकिङ हुँदैन भन्ने प्रश्नमा वरिष्ठ उपरीक्षक चौधरीले भने, ‘चेकिङ हुन्छ । सबैलाई चेकिङ गर्दा जाम पनि हुन्छ । एक दुईवटा गर्दै एक दुईवटा छोड्दै गर्छौ । त्यो त्यसैमा प¥यो की,’ उनले भने ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस