२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशमा अर्को महिना निर्वाचन : २० हजार विपक्षी नेता कार्यकर्ता पक्राउ, ५ जना जेलमै मारिए

काठमाडौं । बंगलादेशमा विगत दुई हप्ताभित्र जेलमा बन्द पाँच विपक्षी नेताको मृत्यु भएको छ । यो जानकारी अधिकारी र मृतकका आफन्तले दिएका हुन् । आइतबार बंगलादेशमा विपक्षीले प्रदर्शन गरे र लाखौं मानिस सडकमा निस्किएका थिए । बंगलादेशमा अर्को महिना आम निर्वाचन हुँदैछ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले जनवरी ७ मा हुने आम निर्वाचन बहिष्कार गरेको छ । वर्तमान प्रधानमन्त्री शेख हसिनाको सत्तामा पुनरागमन लगभग निश्चित मानिएको छ । पछिल्लो पाँच हप्तामा आफ्ना सबै नेतासहित करिब २० हजार नेता कार्यकर्ता पक्राउ परेको बीएनपीले जनाएको छ ।

अक्टोबर २८ मा बिएनपीले राजधानी ढाकामा विशाल जुलुस निकालेको थियो । त्यसयता बंगलादेशमा विपक्षी नेताहरु पक्राउ परिरहेका छन् । तर प्रहरीले पक्राउ परेकाको संख्याबारे बीएनपीको दाबीलाई अस्वीकार गरेको छ । तर, जम्मा कति जनालाई पक्राउ गरिएको प्रहरीले खुलाउन चाहेन् । आइतबार ढाकाको मध्यवर्ती क्षेत्रमा बीएनपीका हजारौं कार्यकर्तासहित पक्राउ परेकाका आफन्तले रिहाइको माग गरेका थिए । गत महिना न्यूयोर्कस्थित मानवअधिकार संगठन ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्‍यालीदेखि बंगलादेशमा कम्तिमा १० हजार मानिस हिरासतमा भएको बताएको थियो ।

र्‍यालीपछि भएको हिंसामा एक प्रहरी र पाँच सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ । करिब तीन सय बसमा आगजनी गरिएको छ । तर, बीएनपी र बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले हिंसा हुँदा कम्तीमा २० जनाको ज्यान गएको बताएका छन् । बीएनपीका कानुनी मामिला प्रमुख केसर कमलले एएफपीसँग कुरा गर्दै पार्टीले विगत दुई हप्तामा हिरासतमा रहेका आफ्ना कम्तीमा पाँच कार्यकर्ताको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले यी मृत्युहरूको स्वतन्त्र न्यायिक अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस