२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६ दिन भैसक्दा पनि भाजपाले राजस्थानमा मुख्यमन्त्री पाएन्, मोदीलाई विद्रोहको डर ?

काठमाडौं । हालै सम्पन्न निर्वाचनमा पूर्ण बहुमत पाएपनि भारतीय जनता पार्टीले राजस्थान राज्यमा ६ दिन बितिसक्दा समेत मुख्यमन्त्री पाउन सकेको छैन । राजस्थान विधानसभा चुनावमा भाजपाले पूर्ण बहुमत पाएपनि ६ दिन बितिसक्दा पनि मुख्यमन्त्रीको नाम तय गर्न नसकेको हो । राजस्थानमा पहिलोपटक मुख्यमन्त्रीको अनुहारलाई लिएर भाजपामा हलचल देखिएको छ । मुख्यमन्त्री को बन्ने भन्ने विषयमा धेरैको नाम चर्चामा छन ।

भाजपा केन्द्रीय अध्यक्ष जेपी नड्डाले शनिबार (आज) राति विधायकहरूसँग छलफल गर्नेछन् । राज्यमा यो अभ्यासको बीचमा मुख्यमन्त्रीको नाम दिल्लीबाट मात्र घोषणा हुने विश्वास गरिएको छ । गृहमन्त्री राजनाथ सिंहको नेतृत्वमा गठित तीन सदस्यीय पर्यवेक्षण टोली पनि आजै साँझ जयपुर पुग्नेछ । पर्यवेक्षकहरूले आइतबार जयपुरमा विधायक दलको बैठक गर्दै मुख्यमन्त्रीको नामबारे छलफल गर्नेछन ।

नाम न छाप्ने सर्तमा भाजपाका एक नेताले भने, ‘मुख्यमन्त्रीको नाम नरेन्द्र मोदी र अमित साहले तय गरिसकेका छन्, अब घोषणा मात्रै बाँकी छ, विधायक दलको बैठक औपचारिकता मात्रै हो ।’ मुख्यमन्त्री पदका लागि तिजाराबाट निर्वाचित बालकनाथको नाम चर्चामा छ । उनले मुख्यमन्त्री पदका लागि आफ्नो नामको चर्चालाई अन्त्य गर्दै आज विज्ञप्ति जारी गरेका छन । बालकनाथले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनेका छन्, ‘पार्टी र माननीय प्रधानमन्त्री मोदीजीको नेतृत्वमा पहिलो पटक जनताले मलाई सांसद र विधायक बनाएर राष्ट्र सेवा गर्ने अवसर दिएका छन् । निर्वाचनको नतिजा आएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चामाथि विश्वास नगर्नुहोस् । अहिले मैले माननीय प्रधानमन्त्रीज्यूको मार्गदर्शनमा धेरै अनुभव बटुल्नु छ ।’

मुख्यमन्त्रीको दौडमा पूर्व मुख्यमन्त्री वसुन्धरा राजे दुई दिनदेखि दिल्लीमा छिन् । उनले केन्द्रीय नेतृत्वसँग भेटघाट गरेको भारतीय सञ्चारमाध्यमले जानकारी गराएका छन । वसुन्धरा राजेलाई समर्थन गर्ने करिब ३० जना विधायकले उनलाई जयपुरको निवासमा भेटेका छन् । यी भेटघाटलाई वसुन्धरा राजेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । अब भाजपाले वसुन्धरा राजेको स्थानमा नयाँ अनुहारलाई राज्यमा सरकारको कमाण्ड सुम्पन सक्ने अनुमान गरिएको छ । उता, समर्थक विधायकहरूले वसुन्धरा राजेलाई मुख्यमन्त्री बनाउन माग गरिरहेका छन । यसबीच वसुन्धरा राजेले पार्टीभित्र विद्रोह गर्ने डरले मोदी साहसहितका भाजपा केन्द्रीय नेताहरु डराएको विश्लेषण पनि भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस