२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगालको खाडीबाट निस्किएको ‘मिचोङ्ग’ सामुद्रिक आँधीको असर नेपालसम्म

The impact of the 'Michong' sea storm from the Bay of Bengal reached Nepal

१९ मंसिर, काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी भागमा आंशिक रुपमा परेको मौसमविदले बताएका छन् । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने मौसमविद सरोज पुडासैनीले जानकारी दिए । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको उनले बताए ।

‘मिचोङ्ग’ सामुद्रिक आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले खासगरी दक्षिणी राज्य तमिलनाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ । चेन्नईमा पाँच जनाको मृत्यु भएको छ । कयौं उडानहरु रद्ध भएका छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका फोटो–भिडियो सार्वजनिक भइरहेका छन् । प्रतिघण्टा ११० किलोमिटरको गतीमा बहेको आँधी भारतको उत्तरपश्चिमतिर गइरहेको छ । यो आँधी मंगलबार बिहान दक्षिण आन्ध्रप्रदेशको तटमा टकराउने र कमजोर हुँदै जाने भारतको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

यसले क्षति पुर्याउन सक्ने भएकाले आन्ध्रप्रदेशका आठ जिल्ला (तिरुपती, नेल्लोर, प्रकाशम, बापटला, कृष्णा, पश्चिम गोदावरी, कोनसिमा र काकीनाडा) मा उच्च सतर्कता अपनाइएको छ । ‘मिचोङ्ग’ सामुद्रिक आँधीको असरले भारतमा बुधबारसम्म भारी वर्षा हुने पूर्वानुमान छ । नेपालमा भने यो आँधीले पानी पर्ने र हावाहुरी चल्ने सम्भावना नरहेको मौसमविद पुडासैनीले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो भागको बादल अलिअलि नेपालसम्म आउने भएकाले यसले हामीलाई खासै असर पर्दैन ।’ तर आज, भोलि र पर्सिसम्म पूर्वी नेपालमा बादलमात्र लाग्ने र पश्चिम नेपालमा भने मौसम सफा हुने सम्भावना रहेको उनले बताए ।

नेपालमा पश्चिमी वायुको समेत प्रभाव रहेकाले कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना मात्र रहेको मौसमविद पुडासैनी बताउँछन् । उच्च पहाडी भागमा हल्का हिमपात हुने सम्भावना छ । पश्चिम नेपालमा हिजो हिमपात र वर्षा भएको थियो । गएरातिदेखि भने त्यस्तो अवस्थामा क्रमिक सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकेको नेपालगञ्ज र आसपासका क्षेत्रमा हल्का बादल लागिरहेको तर कैलालीको धनगढीतिर मौसम सफा रहेको महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस