२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नवराज विककी प्रेमिकाका बाबुसहित २३ जनालाई जन्मकैद, प्रेमिका, आमा र भाइलाई जातीय विभेदमा सजाय

काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आज आएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको थियो । सुनुवाइ सकिए लगत्तै न्यायाधीशले आदेश सुनाए ।

जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ। जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।

यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन्।

तीन दिनसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए। सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका छन्। ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका छन्। अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएका थिए। तीमध्ये एक जनाले बहस गरेनन्। नाम टिपाएका २४ मध्ये १७ जना वादीतर्फका र ७ जना प्रतिवादीतर्फका थिए।

घटना यस्तो थियो
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीया नवराज विक र चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीबीच २०७५ सालमा जाजरकोटकै कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलोपटक भेट भएको थियो। उनीहरूबीचको त्यो भेट प्रेम सम्बन्धमा परिणत भयो र करिब दुई वर्षसम्म चल्यो। मानव अधिकारका विषयमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत रूपमा तयार पारेको प्रतिवेदनअनुसार सोतीकी ती युवती घटना हुनुअघि रानागाउँस्थित नवराजकै घरमा केही दिन बसेकी थिइन्।

२०७६ पुसमा खलंगामा लागेको रमाइलो मेलामा आएकी उनी चार दिनसम्म नवराजको घरमा बसेकी थिइन्। त्यसैबेला नवराज र युवतीबीचको वार्तालाप सुनेर नवराजकी आमाले उनीहरूबीच प्रेम सम्बन्ध छ भन्ने थाहा पाइन्। त्यसपछि नवराज पनि युवतीको घरमा गएका थिए। युवतीकी आमाले नवराजलाई खाना खुवाएर जात नमिल्ने भएकाले घरमा आउजाउ नगर्न भनेकी थिइन्।

घटना हुनुको दुई महिनाअघि २०७६ चैत १७ गते नवराज दोस्रोपटक युवतीको घर सोती गएका थिए। त्यतिबेला तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाइ विनोद मल्ल र परिवारको अरू सदस्यले कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए। चौरजहारी प्रहरीले नवराजको परिवारलाई बुझ्न आउनु भनेपछि आमाले बुझेर नवराजलाई घर ल्याएकी थिइन्। नवराजको घर जाजरकोट खलंगाको रानागाउँदेखि युवतीको घर सोती गाउँ पुग्न पैदल लगभग २ घण्टा ४५ मिनेट समय लाग्छ।

स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार नवराजसहित ६ जनाको मृत्यु हुनेगरी घटना भएको दिन २०७७ जेठ १० गते नवराजकी प्रेमिकाले नै अन्यत्रै विवाह गरिदिन लागेकोले लिन आउनू भनेअनुसार उनी सोती गाउँ गए। त्यसबेला उनले १८ जना साथीहरू पनि सँगै लिएर गएका थिए। करिब साढे ५ बजे सोती पुगेका समूहमध्येका नवराजलाई देखेपछि युवतीकी आमाले ‘तँ डुम फेरि आइस्, तँलाई कुटाइ नपुगेको हो’ भनेर गाली गर्न थालिन्।

त्यसलगत्तै नवराज र सँगै गएका साथीहरू भागे। उनीहरूले फर्किने बाटोमा रहेको स्थानीय बालकुमारी विश्वकर्माको घरको धारामा पानी पिए। पानी पिउन लाग्दा केही स्थानीयले ‘काफल खाएर जाऊ’ भनेर अल्मल्याउन खोजेका थिए। नवराज र उनका साथीहरू नअल्मलिएर सरासर बाटो लागे। उनीहरू फर्किएर मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा रहेको ठूलो ढुंगामा बसिरहेका बेला हतियारसहित ठूलो जत्था आएर घेरा हालेर एक्कासि आक्रमण गरे। आक्रमण सुरू भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई घाइते अवस्थामा उद्धार गरेको थियो।

युवतीतर्फका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ बर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भयो। उनीहरूको शव फरक–फरक दिन, फरक स्थानमा भेरी नदीमा फेला परेको थियो। आक्रमणबाट घाइते भएकाहरूलाई प्रहरीले चौरजहारीमा रहेको मिसन अस्पतालमा पुर्‍यायो। त्यहाँ उपचारपछि १२ जना घर फर्किए।

घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गर्‍यो। बाँकी १४ जनालाई पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको थियो। सरकारी वकिल कार्यालयमार्फत ३४ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो। घटनामा अझै केही फरार छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस