२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेमा लागेको ग्रहण सकिएको छ: ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लागेको ग्रहण सकिएर फेरि उदाएको बताएका छन्। उनले एमाले सिध्याउनेहरु आफै बाहिरिएको बताए। ‘कहिले–कहिले सूर्यलाई पनि ग्रहण लाग्छ, हाम्रो पार्टीलाई पनि ग्रहण लागेको हो,’ मध्यपहाडीको यात्राबाट भित्री मधेशको सुर्खेत झरेर ओलीले भने, ‘ग्रहण सधैं लाग्दैन्, फेरि सूर्य घर्घराउँदो भएर निस्किएको छ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिएर उनीहरुलाई ‘गोमनसाप’ को संज्ञा दिए। ‘दुई तिहाइमा पुर्‍याएको पार्टी सिध्याउन खोजे, सरकार ढाले, पार्टी फुटाए, सबै ठाउँबाट एमालेलाई हटाउन षड्यन्त्र गरे,’ उनले भने, ‘घरभित्रै पालिएका गोमनसापहरु आफैले बालेको धुवाँमा परेर बाहिर निस्किएपछि एमालेमा लागेको ग्रहण पनि सकिएको छ।’

एमाले अध्यक्ष ओलीले मिसन–८४ सफल पार्न नेता तथा कार्यकर्ताहरुलाई अहिलेदेखिनै सक्रियताका साथ लाग्न निर्देशन दिए। ‘वडादेखि केन्द्रसम्म एमालेको पूर्ण बहुमतको सरकार बनाउन अहिलेदेखिनै सक्रियताका साथ लाग्नुहोस्,’ उनले भने, ‘जनतालाई परिचालित गर्न पहिले आफै सक्रिय हुनुहोस्।’ उनले एक वर्षमै वर्तमान सरकार थोत्रो भइसकेको टिप्पणी गरे। ‘बनाउन त पाँच वर्षका लागि भनेर जनताले भोट दिएका हुँदा हुन्,’ उनले भने, ‘नीति, कार्यक्रम, विचार र काम हुँदा यो सरकार एक वर्षमै अशक्त र थोत्रो भएको छ।’

सरकारले कर्मचारीलाई पहिलो चौमासिकको तलव खुवाउन नसकेर आन्तरिक ऋण लिएको बताए। ‘नेपालको इतिहासमै यो अवस्था कहिल्यै आएको थिएन,’ उनले भने, ‘भ्रष्टाचार, कमिसनतन्त्र र तस्करीको जालोमा बेरिएको गठबन्धन सरकारले देशलाई झनझन जर्जर बनाउँदै लगेको छ।’ उनले भ्रष्टाचार नियन्त्रण गर्न, कमिसनतन्त्र र तस्करीको जालो च्यात्न पनि एमालेको सरकार आवश्यक रहेको बताए। उनले दुर्गम पहाडमा जनताका गुनासा सुन्न र त्यसको समाधानका लागि मध्यपहाडी यात्रा सुरु गरिएको भन्दै एमालेबाहेकलाई देशको चिन्ता नभएको बताए।

‘गठबन्धनमा भएका पार्टीहरु यसप्रति गम्भीर देखिँदैनन्,’ उनले भने, ‘अरु केही पार्टीहरु प्रतिगनका कुरा गर्छन्, कोही जनतामा विभाजन ल्याउने, फाटो ल्याउने, हिंसा भट्काउने र कोही उत्ताउला कुरा गर्छन्।’ उनले आफ्नो नेतृत्वको साढे तीन वर्षको सरकारले जनतामा आत्मविश्वास बढाउनुका साथै विकासको लहर चलाएर समृद्धिको यात्रा अघि बढाएको बताए।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस