काठमाडौं । द्रौपदीको चरित्रले महाभारतको कथालाई रोमाञ्चित बनाएको छ। उनी आफ्ना पाँच श्रीमान्लाई खुसी पारेर एउटै दरबारभित्र राज गरेर बसेकी महारानी हुन्। यति मात्र होइन, आफ्नै दरबारमा पाँच श्रीमान् साथमा हुँदा पनि उनी आफ्नैबाट बलात्कृत महिला थिइन्। पूरै समाजमा बलात्कार हुँदा पनि उनका पाँच श्रीमान् मौन थिए।
द्रौपदीलाई युद्धमा जितेपछि खुसी हुँदै अर्जुनले आफ्नी आमालाई भने, ‘माता, मैले युद्धमा फेरि नयाँ र सुन्दर चिज जितेर ल्याएँ ।’ कुन्तीले यताउता हेर्दै नहेरी भनिन्, ‘पहिलेका झैं पाँच भाइ मिलिजुली बाँडीचुँडी खाऊ। फर्केर हेर्दा त्यहाँ एक सुन्दरी थिइन्। आमाको आज्ञापालन गर्दै पाँच पाण्डवले राजकुमारी द्रौपदीलाई बाँडीचुँडी खाए। अर्थात् पाँच पुरुषले उनीमाथि हैकम चलाए।
द्रौपदी राम्री र मिठो भएकै कारण मन थाम्न नसकेर उनीहरूले बाँडीचुँडी खाएको हुनुपर्छ। म यसो सोच्छु, त्यो फल मिठो नभएको भए वा कुनै खोट भएको भए उनीहरूले खान्थे कि खाँदैनथे ? जे होस्, पाँच पुरुषले द्रौपदीबाट सन्तुष्टि लिइरहे। युधिष्ठिरजस्ता महाज्ञानी, भीमजस्ता बलवान् र अर्जुनजस्ता बुद्धिजीवी, नकुल र सहदेवजस्ता त्यागी र सहनशीलले एक नारी द्रौपदीबाट सन्तुष्टि लिए। यी पाँचमध्ये उनलाई विशेषतः कुन श्रीमान् मन पर्थ्यो ? शास्त्रमा अर्जुन मन पर्थ्यो भनिन्छ। तर पाँच पाण्डवले द्रौपदीलाई मात्र मन पराउँथे भने उनीहरूले अलग अलग निजी श्रीमती पक्कै राख्ने थिएनन्।
द्रौपदी पाँच पाण्डवकी मन भुलाउने बाटो थिइन् भन्दा फरक नपर्ला, नत्र सभामा उनीहरूले आफ्नी श्रीमती पक्कै दाउ लगाउँदैनथे होलान्। एउटी सुन्दर महिलालाई देखेर कति ऋषिमुनिको तपस्या भंग भयो, कतिको घरबार बिग्रियो, कतिको मति बिग्रियो, कति बालबालिका टुहुरा भए भन्ने कथा हामीमाझ प्रशस्त छन्। शास्त्रमा भनिएको छ– नारी जब आफ्नो जन्म घरबाट अन्मिएर श्रीमान्को घर जान्छिन्, उनको शरीरमा श्रीमान्को मात्र हक लाग्छ। यहाँ त आमा समानकी भाउजूलाई दाजुभाइले उपभोग गरिरहे। यसो गर्नुहुँदैन भन्ने कुराको आवाज पनि उठेन।
मानिस दुःखी हुने कि खुसी भन्ने कुरा आफैमा निहित हुन्छ। आफू कति आत्मविश्वासी र सशक्त हुने, आफैभित्रको आत्मबलमा भर पर्छ। प्रकृतिले हामीलाई शरीर दिएको छ, जसलाई हामी फरक संरचनामा ढाल्न सक्दैनौं तर आफूलाई कस्तो बनाउने ? आफ्ना सोचहरू सकारात्मक वा नकारात्मक कस्ता बनाउने ? आफैंमा निर्भर पर्छ। आफ्नै बाबुसँगको संसर्गबाट पेट बोकेर सन्तान जन्माएकी पार्वतीको कथा, ससुराले बलात्कार गरेर पेट बोकेकी दुर्गाको पीडा, आफ्नै काकाबाट बलात्कृत भएकी भतिजीको व्यथा, आफ्नै दाजुले बलात्कार गरेपछि आफ्ना साथीहरूलाई पनि बलात्कार गर्न निर्देशन दिने दाजुको कठोर मन।
यस्ता समाचार हामीले सुन्दै आएका छौं। यहाँ सम्बन्धहरू वासनामा टिकेका छन्, शरीरमा अडेका छन्। वासनाको इतिहास लामो छ। यौन कथा धेरै छन्। वासनाले छोरा, छोरी, बाबु, काका, राजा, रानी, दासी केही भनेन। हुन त द्रौपदी पौराणिक, सम्मानित नारी हुन् तर के महिलाहरू त्यसरी नै सम्मानित हुन चाहन्छन् ? कुनै बाबुआमा आफ्नी छोरीको जिन्दगी द्रौपदीका जस्तो होस् भन्ने चाहन्छन् ?
आज जताततै वासना, यौनक्रिडाहरू छन्। पार्क, गल्ली, कार्यालय, विद्यालय, घर जताततै भयको खेती बढिरहेको छ। हामीमा अधिकार नपाए खोसेर पनि लिनुपर्छ भन्ने सोच छ तर हामी बलात्कार बाबु, काका, दाइसँग लडेर अधिकार माग्ने हैसियत राख्दैनौं। नारी अवला होइन भन्दै विरोध गर्छौं तर आफ्नैसँग हारेका छौं। यहाँ धेरै महिला द्रौपदी भएका छन्। वासनाकै लागि कति युद्ध भए, कति लडे, कतिले मारे र मरे पनि। हामी महिला सशक्तीकरणको कुरा गर्छौं, परिवर्तनको कुरा गर्छौं तर विधुवा बुहारी कुनै कामका सिलसिलामा कुनै पुरुषसँग बोली भने समाजले नानाथरी गाली गर्छ, घरकै पुरुषले गलत नजरले हेर्दा परिवार मौन रहन्छ।