२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले आज निर्णय सुनाउँदै, छुट्लान् त टोपबहादुर र बालकृष्णहरु

top bahadur rayamajhi balkrishna khand

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले आज (शुक्रबार) निर्णय सुनाउने भएको छ। न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो। जिल्ला अदालतको थुनछेक आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तका कानून व्यवसायीले जबाफी बहस सकेपछि बिहीबार सुनुवाइ पनि सकिएको थियो।

काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै असार १ गते थुनछेक आदेश जारी गरेको थियो। यस्तै, २ अभियुक्तलाई तारेख तथा धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध सरकारी पक्षले पनि उच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो। उच्च अदालतले अभियुक्त र सरकारी पक्षका निवेदन एकसाथ राखेर सुनुवाइ गर्दै आएको थियो।

उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै आदेश सदर गर्ने वा फरक आदेशसहित फैसला सुनाउन सक्नेछ। जिल्लाकै आदेश सदर भएमा हाल थुनामा रहेकाहरु मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै बस्नुपर्नेछ। जिल्लाको आदेश उल्टाएको अवस्थामा भने प्रतिवादीहरु धरौटी वा तारेखमा रिहा हुन सक्नेछन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएर ठगी गरेको प्रकरण सतहमा आएको थियो।

प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये १८ जना तत्कालीन अवस्थामा पक्राउ परेका थिए। उनीहरुहविरुद्ध संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी ४ वटा मुद्दा दायर भएको थियो। उनीहरुसँग २७ करोड ५० लाख रुपैयाँ बिगो र कैद सजाय दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा २०८० जेठ १० गते मुद्दा दायर गरिएको थियो।

यो मुद्दामा अहिले पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका पूर्व अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई थुनामा छन्। यस्तै, पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन, आशिष बुढाथोकी, सागर राई र केशव तुलाधर पनि थुनामा रहेका छन्।

काठमाडौं जिल्ला अदालतले अभियोगपत्रसँगै अदालतमा पेस भएकामध्ये २ जना प्रतिवादी टंक गुरुङ र लक्ष्मी महर्जनलाई क्रमशः १० लाख र पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।

 

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस