२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘प्रतिगामीहरू सल्बलाउन थाले, जनता भड्काए एमालेलाई सह्य हुन्न’ – केपी शर्मा ओली

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सत्ता गठबन्धनले सही दिशामा लैजान नसक्दा अहिले प्रतिगामीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको बताएका छन् । एमालेले बिहीबारबाट सुरू गरेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिगामी शक्तिहरुलाई कुनै पनि सल्बलाहट नगर्न चेतावनी दिएका छन् ।

‘देश बेहाल भएकाले जनताहरू विदेशिन बाध्य भएका छन्, प्रतिगामीहरु दुलाबाट टाउको निकालेर सल्बलाउन खोजेका छन्, कुनै बेलाका महाराज भनेर अहिले सालिक ठड्याउने जस्तो काम समेत हुन थालेको छ,’ ओलीले भने, ‘ याद रहोस् हामी पछाडि फर्कन सक्दैनौं, फेरि कसैको दास, रैती हुन सक्दैनौं ।’

अध्यक्ष ‌ओलीले राष्ट्रिय एकताका लागि एमालेले काम गरिरहेको तर केहीले त्यो एकतालाई खल्बल्याउने कोसिस गरेको दाबी गरे । पहिचानवादी आन्दोलनका नाममा अहिले जनतालाई भड्काउने खोजिएको ओलीले आरोप लगाए । ‘राजनीतिक हिसाबले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्न खोजिएको छ । पहिचानको कुरा सम्बोधन गर्न हामीले संविधानमै समावेशीताको प्रावधान राखेका छौं,’ अध्यक्ष ओलीले भने,’ पहिचानको नाममा राजनीतिक हिंसा फैलाउने र अरुलाई आक्रमण गर्ने कुरा सह्य हुनसक्दैन ।’

उनले बलियो राष्ट्रिय शक्तिको निर्माण र देशलाई समृद्धि र सुशासन ल्याउने बाटोमा ल्याउनका लागि अहिले बैतडीदेखि पाँचथरसम्मको यात्रा थालिएको जानकारी दिए । आफूलाई प्रधानमन्त्रीबाट हटाएपछिको पछिल्लो साढे दुई वर्षमा अर्थतन्त्र धेरै ओरालो लागेको र राजनीतिक अस्थिरता, तस्करी र भ्रष्टाचार मौलाएको दाबी गरे । ‘देश अप्ठेरोमा परेको छ । कर्मचारी पनि पाल्न सक्ने अवस्था छैन । तस्करी बढेको छ । एक क्विन्टल सुन पक्राउ पर्‍यो । तर त्यो अघि नै ३५ क्विन्टल सुन तस्करी भएको रहेछ । भन्सारमा सिगरेटबाट सुन आइरहेको छ । यो सबै कमिसनतन्त्रको खेल हो,’ ओलीले मुलुकको अवस्था चित्रण गर्दै भने ।

उनले नेपाललाई गरिबीबाट मुक्त गर्ने, एकताबद्ध पार्ने काम एमालेले गर्ने दाबी गरे । ‘एमालेले कुनै पनि नाममा जनता भाँड्ने र जनताका बिचमा मार मच्चाउने क्रियाकलाप अघि बढाउन दिनेछैन्,’ ओलीले भने । तस्बिर : दिनेश भण्डारी, अध्यक्ष ओलीका नीजि फोटोग्राफर

 

 

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस