२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

Prime Minister Prachanda Visit UAE

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार बेलुकी काठमाडौंबाट दुबई प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई बिदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारीको उपस्थिति थियो।

विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ। यूएईको दुबइमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदैछ। यस वर्षको आयोजक राष्ट्रका रुपमा यूएईले अध्यक्षता गर्दैछ।

जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि–नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्नेछ। १३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यसूची रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले शुक्रबार सो सत्रलाई सम्बोधन गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा सहभागी हुनेछन्। त्यस्तै, शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दि माउन्टेनः हु सेभ अस फ्रम दि क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन्। सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाल पर्वतीय र हिमालयको शीर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्र रुपमा परिरहेको तथ्य उजागर गर्ने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले नेपालसहित पर्वतीय क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने र हिमालका अजेण्डालाई कोप–२८ मा महत्त्वका साथ हेर्नका लागि अपिल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनको साइडलाइन बैठकका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ। यूएईमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तर्क्रिया गर्ने कार्यसूची छ। प्रधानमन्त्रीले त्यहाँ आयोजना हुने नेपाल–युएई व्यापार सम्मेलनमा सम्बोधन पनि गर्नेछन्। नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्चाधिकारी सहभागी छन्। नेपाली टोली शनिबार स्वदेश फर्किने छ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस