२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शीर्ष नेतासहित अध्यक्ष ओली धनगढी पुगे, भोलि बैतडी जाने

कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेताहरुसहित कैलाली पुगेका छन् । बुद्ध एयरको जहाजमार्फत ओलीसहित एमाले पदाधिकारीहरु धनगढी पुगेका हुन् ।

१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आएका हुन् । अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगेका छन् । अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन् । भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ ।

सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ । प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्शाउने बताइएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस