१० मंसिर, काठमाडौं । १ महिनापछि सेयर बजार १९ सय विन्दुमाथि पुगेको छ । १२ कात्तिक यता १९ सयमुनि रहेको नेप्से परिसूचक आइतबार १९०७ विन्दुमा कायम भएको हो । आइतबार नेप्से २.५६ प्रतिशत अर्थात् ४७.७५ अंक बढेको छ । यस दिन २ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।
आइतबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहहरु बढेका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै ४.४४ प्रतिशत बढ्दा फाइनान्स समूह ३.९१, निर्जीवन बीमा ३.६७ तथा व्यापार समूह ३.५८ प्रतिशत बढे । अंकका आधारमा वाणिज्य बैंक २१, विकास बैंक ९५, फाइनान्स ६३, होटल तथा पर्यटन ९०, जलविद्युत् ६०, जीवन बीमा ४४९, उत्पादन १५३, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ३५८, अन्य २५ र व्या पार उपसमूह ९६ अंक बढे ।
धेरै मूल्य बढेका र घटेका कम्पनीहरू
छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ९.८, रावा इनर्जीको ९.८, मैलुङखोलाको ९.७ तथा सिंगटी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । बजार बढ्दा पनि इनिफिनिटी लघुवित्तको २.४, आशा लघुवित्तको २.४, आत्मनिर्भर लघुवित्तको २.३, जनउत्थान सामुदायिक लघुवित्तको १.९९ र हाथवे इन्भेस्टमेन्टको मूल्य १.६ प्रतिशत घट्यो ।