२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशलाई अस्थिरतामा फसाउने चेष्टा भयाे, सरकारले सुशासन दिन सकेन भनेर ढुंगे युगतिर फर्कन सकिदैन: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुशासनको प्रत्याभूति दिन सकेन भनेर ढुंगे युगतिर फर्कन नसक्ने बताएका छन्।

शनिबार नेकपा (एमाले)ले नेपाल संवत् ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिरतामा फसाउने चेष्टा भइरहेको बताएका हुन्।

‘आज जति सचेत कहिल्यै पनि थिएनन् मानिस, आज जति विकास कहिल्यै पनि थिएन। त्यो कुरा हामीले बुझ्नुपर्छ। अहिले म काठमाडौंबासी, सिंगै देशवासीलाई भन्न चाहन्छु, हाम्रा देशका विरूद्ध षड्यन्त्र भइरहेको छ। अस्थिरमा फसाउने षड्यन्त्र भइराखेको छ। हाम्रा जनतालाई पहिचानको, जात, धर्म आदि अनेक नाममा विभाजित गर्ने प्रयास भइरहेको छ। झगडा लगाउने प्रयास भइरहेको छ। द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ। केही समयअघि हिन्दु र मुस्लिमकाबीचमा झगडा लगाउने कोसिस भयो, त्यसमा उनीहरू असफल भए। एक्सपोज भयो, त्यो षड्यन्त्र पर्दाफास भयो। त्यसपछि असामयिक, असान्दर्भिक कुरा निकालेर, जनतालाई अल्मल्याएर त्यस प्रकारका काम भइरहेको छ,’ उनले भने।

अहिलेको सरकारले राम्रो काम गर्न नसकेको साँचो कुरा भएको बताए। सरकारले नै राजनीति अस्थिर बनाएको उनले टिप्पणी गरे।

‘अराजकता निम्त्याएको छ, अस्थिरतालाई नियन्त्रण गर्ने होइन प्रोत्साहित गरिरहेको छ। समाजमा सुशासन छैन। गुण्डाहरूलाई कारबाही गर्ने होइन, गिरफ्तार गर्ने होइन, प्रहरीले गिरफ्तार गर्‍यो भने सरकारले छाड्न लगाउँछ, राष्ट्रपतिले गुण्डाहरूलाई छानीछानी माफी दिन्छन्। अर्थतन्त्र ध्वस्त बनाएको छ। तस्करी बढेको बढ्यै छ, ३५ क्विन्टल सुन त अस्ति नै आएको हामीले देख्यौं, जसमध्ये एक क्विन्टल पक्राउ पर्‍यो, ६० किलोमा झर्‍यो। साढे नौ किलो इलेक्ट्रिक सिगरेट भन्ने, त्यो पक्राउ पर्‍यो, अहिले दुई किलो मात्रै छ, त्यसमा। कुशासनको चर्चा गरिसाध्य छैन,’ उनले भने।त्यसको अर्थ लोकतन्त्र खराब, गणतन्त्र खराब भन्ने हुन नसक्ने उनले बताए।

‘जसले गल्ती गरेको छ, त्यो खराब होला, जसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं। जन्मँदै कोही राजा हुने त्यो कुरा स्वीकार्न सक्दैनौं। एउटा व्यक्ति हुने कुरा, एउटा परिवार हुने कुरा, त्यो कुरा अबको सचेत पुस्ताले, नयाँ पिँढीले स्वीकार गर्न सक्दैन,’ उनले भने।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस