२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तराईमा एआईजी गौतमका घुमुवाको रजगज

AIG Chandra Prakash Gautam Head of Administration Department in Armed Police case

काठमाडौं । सशस्त्र प्रहरीमा प्रशासन विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमले मधेश प्रदेशमा आफ्ना विश्वासपात्र घुमुवा पठाएर त्यहाँको बीओपीमा काम गरिरहेका कमाण्डरहरुलाई हतोत्साहित गरेका छन् । केही दिनअघि नियतवश उनले तराईका झण्डै एक दर्जन कमान्डरको बिना कसुर कमान्ड खोस्ने काम गरेका छन् ।

आफू गणपति हुँदा घुमुवा राखेका हालका एसपी भानुभक्त लम्सालको नेतृत्वमा एउटा टोली पठाएर उनले हतोत्साही बनाउने काम गरेका हुन् । तराईका केही जिल्लामा तस्करी गराएको आरोपमा ती कमान्डर परिवर्तन गरिए पनि त्यसको प्रमाण भने पुर्याउन सकेका छैनन् । विना प्रमाण एआईजी गौतमले आफूहरूको मानमर्दन र बेइज्जती गरेको कमाण्डरहरुले आईजीपीनिकट रहेका अधिकृतहरूलाई सचिवालयमा गुनासो गरेका छन् ।

कमान्ड तानिएका अधिकृतहरूलाई कारबाही नै गर्न गौतमले छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी दीपेन्द्र शाहलाई निर्देशन दिए पनि के कसुरमा कारबाही गर्ने भन्नेमा एआईजी गौतम आफैँ स्पष्ट नहुँदा उनीहरूलाई गर्ने भनिएको कारबाही पनि रोकिएको छ । उनले अनुगमनका नाममा केही दिनअघि मात्र आफू गणपति हुँदा तस्करी गराएर बदनाम भएका एसपी भानुभक्त लम्सालसहितको टोली तराईमा परिचालन गरेका थिए । उनै लम्साल टोलीले दिएको गलत रिपोर्टको शिकार अहिले केही अधिकृत भएको बताइएको छ ।

एसपी लम्सालले केही वर्षअघि पूर्वी नवलपरासीको गुल्मपति हुँदा तस्करीको सामान काठमाडौं पठाउँदा थानकोटमा पक्राउ परेको थियो । त्यस बेला गाडी र ड्राइभर द्रोण केसी पक्राउ परे । केसीले गुल्मबाट ल्याएको कपडा भएको जानकारी गराए । तर अहिले लम्साल होइन, केसी तस्करीको मुद्दा खेपेर हिँडेका छन् । लम्साल भने एआईजी गौतमको घुमुवाको रुपमा काम गरिरहेका छन् ।

केसी कारबाही पर्दा र उनको गाडीसमेत जफत हुँदा आफू आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै केसीले एसपी लम्साल तस्करीमा दोषी रहेको बताउँदै आएका छन् । तर लम्साल यो मुद्दामा जोगिँदै आएपछि गौतमको निकट रहेर परिचालित भएका हुन् । तिनै भ्रष्ट लम्सालले विगतमा एआईजी गौतम मधेश प्रदेशमा हुँदा परिचालन गरेका घुमुवासमेतको सहयोगमा गलत रिपोर्टिङ गरेका थिए । त्यतिमात्र होइन, अहिले सचिवालयको अनुगमन शाखामा कार्यरत डीएसपी सुदीप रेग्मी र इन्स्पेक्टर हरिसिंह विष्टको बदमासीका कारण पनि यो समस्या आएको छ ।

रौतहटका एसपी माधव रेग्मीका भाइ सुदीपले आफ्नो दाइले गरेको तस्करीबारे कहीँ कतै रिपोर्टिङ नै गर्दैनन् । रौतहटका एसपी माधव रेग्मी र बाराका एसपी टोपबहादुर डाँगीले घुमुवा परिचालन गरेर असुली धन्दा गरेको भन्दै पटक–पटक हल्चोकमा उजुरी परे पनि कतै रिपोर्ट नै गरेका छैनन् । आईजीपीको सचिवालयमा बसेर आईजीपीलाई सहयोग गर्नुपर्नेमा जिल्लाबाट आउने उजुरीहरू तामेलीमा राख्दै असहयोग गरिरहेका छन् ।

यस बाहेक कसलाई कहाँ सरुवा गर्ने वा काज खटाउने भन्ने सबै अधिकार अहिले प्रशासन विभाग होइन डीएसपी सुदीप रेग्मीको हातमा हुने गरेको छ । जसका कारण उनले आफूलाई मन नपरेका कर्मचारीलाई छानीछानी दुःख दिने गरेका छन् । उनीसँगै काम गर्ने इन्स्पेक्टर हरिसिंह विष्ट विगतमा तराई बसेर बदनामी कमाएका व्यक्ति हुन् । उनले नै केही घुमुवामार्फत गलत प्रतिवेदन दिएर कमान्डर फिर्ता बोलाउन लगाएको समेत स्रोतको दाबी छ । त्यसो त एआईजी गौतमको विगत पनि राम्रो छैन । उनलाई एसपी हुँदा सर्लाहीमा व्यापक तस्करी गराएको आरोप छ । सर्लाहीको गणपति हुँदा उनले दर्जन बढी घुमुवा परिचालन गरेका थिए । देवचन्द्र यादव नाम गरेका असईले सर्लाहीको चर्चित नाका त्रिभुवननगर र संग्रामपुर नाकाबाट करोडौं उठाएर गौतमलाई बुझाएको स्रोतको दावी छ ।

यस्तै वरिष्ठ हबल्दार रामनारायण साह र अर्का एक वरिष्ठ हबल्दार, सहायक हबल्दार यादव विष्टसहित दर्जन बढी घुमुवा परिचालित थिए । त्यतिमात्र होइन, २०६६ सालमा राष्ट्रिय सुरक्षा योजना लागू हुँदा सर्लाहीमा बेस र बीओपी स्थापना गर्न आएको करोडौं बजेट गौतमले हिनामिना गरेको स्रोतको दाबी छ । ‘कुनै पनि बेस बीओपीमा बजेट गएन, सबै उनले राखे’, स्रोतले भन्यो ।

यसका साथै दन्तकाली गण र त्रिपूरा गण बाँके बस्दासमेत तस्करी गराएर गौतमले अकूत कमाएको स्रोतको दाबी छ । तिनै एआईजी अहिले आफू निकै सफा भएको दाबी गर्ने गरेको र मातहतका कर्मचारीलाई उपदेश दिने गरेको स्रोतले बतायो । उनले अहिले पठाएका कमान्डर देखेर मुख्यालयमा चर्चाको विषय बन्ने गरेको छ । महोत्तरीको बीओपी पठाइएका डीएसपी महेश खरेल सशस्त्रको इतिहासमै पहिलो पटक बीओपी कमान्ड दोहोर्याएर विकृति ल्याउने मध्येका एक हुन् । उनलाई तिनै गौतमको साथ रहेको छ ।

कोषराज वन्त आईजीपी हुँदा उनले धनुषाको खजुरी बीओपी डबल कमान्ड अर्थात् २४ महिना गरेका थिए । अहिले एआईजी गौतले बिनाकसुर र प्रमाण कमान्ड फिर्ता गराउँदा तराईमा कमान्ड जाने कि नजाने भन्नेमा सशस्त्र प्रहरीमा आतंक बढेको बताइन्छ । ‘आफूलाई मन परेको कर्मचारी च्यापेर घुमुवा खटाएका गौतम भने सामाजिक सञ्जालमा नैतिकताको उपदेश दिएर बस्ने गरेका छन्’, हल्चोकस्थित महानिरीक्षकको सचिवालयमा कार्यरत एक एसएसपी भने ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस