२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज हरिबोधनी एकादशी, कुनै मुहूर्त नराखी विवाह गर्न सकिने

काठमाडौं । आज हरिबोधनी एकादशी मनाइँदै छ । हरिबोधिनी एकादशीलाई वर्षमा पर्ने २४ वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशी पनि हो । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाको योग निद्रापछि आजका दिन भगवान विष्णु व्युझिनु जनविश्वास रहेको छ । आजबाट विवाहको सिजन सुरु हुन्छ । गृहप्रवेश र अन्य शुभ कार्यहरू पनि सुरु हुन्छन् ।

हरिबोधनी एकादशीका दिन शुभ मुहूर्त नराखी पनि विवाह गर्न सकिन्छ । विगत चार महिनादेखि योग निद्रामा सुतिरहेका भगवान विष्णु शंख बजाएर ब्युँझिन्छन् । दिनभर महापुजा जारी रहन्छ र आरती गरिन्छ । साँझमा भगवान विष्णुको शालिग्राम र लक्ष्मीजीको तुलसीको रुपमा विवाह हुन्छ । घर–मन्दिर सजाइन्छ र दीप प्रज्वलन गरिन्छ । यदि तपाइँ तुलसी–शालिग्राम विवाह गर्न सक्नुहुन्न भने, पूजा पनि गर्न सक्नुहुन्छ ।

आज काठमाडौं उपत्यकाका चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायणसहित देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो छ । उपत्यकाबाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ । पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि भक्तजनको भिड छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस