काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने बताउनु भएको छ । विश्व शौचालय दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने बताउनु भएको हो ।
आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरबार भित्रको शौचालय सफा गर्ने गरेको दाबी पनि गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैं सफा गर्छु । त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैं गएर त्यसलाई घोट्छु ।’ उहाँले सरकारी कार्यालयमा रहेको शौचालयहरु निकै फोहोर हुने गरेको पनि उल्लेख गर्नुभयो ।