२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र बनाउने हो, टिकटक बन्द नै गर्ने होइन : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टिकटकमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्रको विकास गर्नुपर्ने तर बन्द नै समाधान नभएको धारणा प्रस्तुत गरेका छन् । उनले अहिलेको बन्दसँगै टिकटकलाई नियमन गर्नलाई दह्रो आधार बनोस् भन्ने कामना गरेका छन् र मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् पनि भनेका छन्।

‘यदि तपाईंहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरूपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला। केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्। जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन्। हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक–पटक अनुरोध गर्‍यौं। नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौं। नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौं। सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो,’ उनले स्मरण गरेका छन्।

उनले आफ्नो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दुःख पाएको अवस्था रहेको बताए। ‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन। यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ। साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूूलो प्याटफर्म भएको । यति मात्रै हैन टिकटकले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ,’ उनले भनेका छन्।

मेयर बालेन शाहले नेपाल सरकारलाई टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्न अनुरोध गरेका छन्। ‘अब भनेको करको दायरामा ल्याउने र टिकटक मार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो। अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन, अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस्। मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ उनले भनेका छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस