२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटक बन्द गर्ने सरकारको निर्णयमा ठूला ‘टिकटक क्रियटर’ हरु यसो भन्छन्

'TikTak creators' say about the government's decision to close TikTok

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ । समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक–फरक धार देखिएको छ । यसैबीच सत्तारुढ घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । विकृतिलाई समाधान गर्ने भन्दै बन्द नै गर्नु गलत भएको उनको भनाइ छ ।

त्यस्तै, टिकटकमा आफू सक्रिय राखेर विभिन्न तवरले आम्दानी गर्दै आएका टिकटकरहरुले भने सरकारको यस निर्णयको चर्को आलोचना गरेका छन् । टिकटकमा सक्रिय रहेकी मोडल कविता नेपाली टिकटक बन्द गर्ने सरकारको निर्णय पूर्णरुपमा गलत भएको बताउँछिन् ।

‘सरकारले किन यस्तो गरेको हामीलाई थाहा छैन । तर यस किसिमको निर्णय गलत हो’, उनले भनिन् । त्यस्तै, चर्चित टिकटकर प्रीन्सी खतिवडाले रोजगारीको अभाव भएको अवस्थामा टिकटककै कारण धेरै आफ्नो गुजारा चलाउन सकिरहेको अवस्थामा सरकारले टिकटक व्याण्ड गर्ने निर्णय गर्नु एकदमै गलत हो ।

उनले भनिन्, ‘टिकटक प्रयोगकर्तालाई उपेक्षारुपमा हेर्ने गरिन्छ त्यसैमा सरकारले पनि यस्तो निर्णय गर्नुले हाम्रो प्रयासलाई हतोत्साहित बनाएको छ ।’ अर्की कलाकार प्रियाना आचार्य (मुन्नी) ले जहाँ अडियन्स धेरै हुन्छन् त्यहीँ कला देखाउने हो । त्यस क्रममा टिकटकमार्फत धेरै दर्शकसामु पुगेको बताइन् ।

‘सरकारले यसरी टिकटक बन्द गर्नुले हाम्रो कलाकारितालाई सीमित बनाउँछ, किनभने टिकटकबाटै धेरै दर्शकसमक्ष पुग्न सकिने भएकाले नै प्रयोग गर्ने गरिएको हो ।’ टिकटकको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्षलाई मात्रै आफूले फिल्टर गरेर अघि बढ्न सकिने आचार्यले बताइन् ।

त्यस्तै, मोडल गरिमा शर्माले आफू टिकटकबाटै उदाएको भए पनि हालका लागि सरकारले गरेको निर्णयमा आफू तटस्थ रहेको बताइन् । उनले आफूले टिकटक चलाउँदा छाडापन नभएको बताउँदै अहिले अति नै विकृति बढेको र भ्यूजकै लागि जे पनि गर्ने प्रवृत्ति देखिएकाले सरकारको निर्णय सही भएको उनको भनाइ छ । ‘टिकटकले कलाक्षेत्रमा आउन धेरैलाई अवसर दिए पनि पछिल्लो समय टिकटक काण्डैकाण्डको थलो बनेको छ’, उनले भनिन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस