२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटक बन्दपछि सूर्य थापाले भने, तानाशाही निर्णयबाट अन्धकार युगतर्फ धकेल्ने प्रयत्न, अविलम्ब फिर्ता लिइयोस्

Surya Thapa said after Tiktok was banned, it should be withdrawn immediately

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभाका सांसद सूर्य थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय खेदजनक भएको भन्दै आलोचना गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै टिकटकलाई व्यवस्थित गर्न जरुरी रहेकोमा सरकारले स्वेच्छाचारी ढंगले बन्द गरेको टिप्पणी गरेका छन् ।

त्यस्तै, नियमन गर्ने कुरा संसदबाट कानून बनाएर गर्नुपर्ने उनले धारणा राखेका छन् । सरकारले तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्न प्रयास गरेको थापाको तर्क छ । ‘विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानून बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता भएर मात्रै चल्ने बनाउन तथा कानूनबमोजिम मात्रै नियमन गर्न थापाले जोड दिएका छन् । त्यस्तै, जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन पनि थापाले ध्यानकर्षण गराएका छन् । ‘टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानूनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जोडदार माग गर्दछु’, उनले भनेका छन्, ‘म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु

यस्ताे थापाकाे विज्ञप्ति:

प्रेस विज्ञप्ति
टिकटक(Tiktok) बन्द गर्ने मन्त्रिपरिषदको आजको निर्णय खेदजनक रहेको छ।
यसबाट ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाई व्यवहारत: चरितार्थ गर्नखोजेको प्रष्ट भएको छ। संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ। नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ।
टिकटक लगायतका वैकल्पिक संचारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ । तर यो कार्य मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानुन बनाएर मात्रै गर्नुपर्छ।
विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानुन बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको बर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ।
टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जाेडदार माग गर्दछु।
म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु।
सूर्य थापा
संघीय प्रतिनिधिसभा सदस्य
प्युठान
२७ कात्तिक २०८०

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस