२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भ्रष्टाचार मुद्दामा दोषी पूर्वउपप्रमुखसहित सबैलाई विशेष अदालतको सफाइ

विराटनगर । विशेष अदालतले विराटनगर महानगरपालिकाकी पूर्वउपप्रमुख इन्दिरा कार्की, तत्कालीन प्रमुख प्रशासकीय प्रमुख एकदेव अधिकारी र सहरी विकास महाशाखाका इन्जिनियर गोपाल पोखरेललगायत सबै आरोपीलाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विराटनगर(१५ मा पोखरी निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी रकम भुक्तानी गरेर नापी किताबमा चढाएर भ्रष्टाचार गरेको दाबी गर्दै १० लाख ५५ हजार ९७९ रुपैयाँ बिगो तोकेर मुद्दा दायर गरेको थियो । अख्तियारले दर्ता गरेको उक्त मुद्दालाई विशेष अदालतले किनारा लगाउने क्रममा दाबी पुष्टि हुने आधार नभएको भन्दै विपक्ष सबैलाई निर्दोष ठहर गरेको हो ।

अख्तियारले मेसिनबाट भएको कामको भुक्तानी ज्यालादारी मजदुरबाट गरेर रकम हिनामिना गरेको पनि मागदाबी गरेको थियो । अख्तियारको मुद्दाका कारण उपसचिवमा बढुवा हुने तयारीमा रहेका तत्कालीन प्रशासकीय अधिकृत अधिकारी निलम्बनमा परेका थिए भने प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेकी पूर्वउपप्रमुख कार्की गएको प्रदेशसभा निर्वाचनमा भाग लिनबाट वञ्चित भएकी थिइन् ।

यो मुद्दा आफ्नै पार्टीभित्रका केही नेता कार्यकर्ताको इशारामा आफ्नो चरित्र हत्या गर्न र गएको प्रदेशसभा निर्वाचनमा आफूलाई रोक्न जबर्जस्ती दर्ता गराइएको थियो । सफाइपछि उपप्रमुख कार्कीले भनिन्, अदालतले मसहित सबै आरोपीलाई सफाई दिएर न्याय गरेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस