काठमाडौं । भूकम्पले घरको कुनै अवशेष छाडेन। त्योभन्दा ठूलो त छोरा, नाति, नातिनी बुहारी र पनातिलाई गुमाउनु पर्दाको पीडाले ७८ वर्षीया हिरा कुमाई विक्षिप्त भएकी छिन्।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको दुवै खुट्टा भाँच्चिएको छ। कम्मरमुनिको भाग नै चल्दैन। जाजरकोट, नलगाड नगरपालिका वडा नम्बर १ चिउरी निवासी हिरालाई शुक्रवार रातको त्यो कहाली लाग्दो भूकम्प सम्झिँदा अहिले पनि भक्कानो फुटेर आउँछ।
भूकम्पले भत्काएको घरभित्र पुरिँदा पनि आफू धन्न बाँचिन्। तर, जेठो छोरा ५८ वर्षका दत्तबहादुर कुमाई, उनको माहिला छोरा हस्तबहादुर कुमाईका जेठा छोरा(नाति) २३ वर्षीय भिमश्याम कुमाई, २२ वर्षीया नातिनी बुहारी कमला कुमाई र ३ वर्षका पनाति सञ्जय कुमाईंलाई सदाका लागी गुमाइन्। भूकम्पमै परेर उनका देवरका नाति २२ वर्षका भबिलाल कुमाईंको पनि निधन भयो।
‘भुईँचालोमा परेर मेरो परिवारका मात्रै छोरा, नाति, नातिनी बुहारी र पनाति गरी ४ जना बिते, मेरै देवरको नाति पनि बित्यो, उनले भनिन् ‘सबै घर ढलेका छन्, जिउँदो मान्छे बस्ने बास छैन, खाने गाँस छैन।’
भूकम्प आउँदा हिरा साइँलो छोरा शान्तबहादुर कुमाईंको घरमा सुतेकी थिइन्। आफ्ना चार छोरा मध्ये उनी साइँलो छोरासँग बस्दै आएकी थिइन्। हिरा र नातिनी १९ वर्षीया मनीषा कुमाई (साइँलो छोराको छोरी) घरको दक्षिण पट्टीको कोठामा सुतेका थिए। उनका साइँलो छोरा र बुहारी छेउको कोठामा थिए भने छोराहरू बिचको कोठामा थिए। मस्त निन्द्रामा सुतेका बेला अचानक घर हल्लायो र छिनभरमै घरले पुर्यो। घरमा हजुरआमा र नातिनी पुरिए।
तर, साइँलो छोरा, बुहारी र नातिहरू जोगिए। छोरा, नाति मिलेर हिरा र मनीषालाई बाहिर निकाले। वृद्धा अवस्थाकी हिराको खुट्टा नचल्ने भयो। तर, मनीषालाई भने खासै चोट लागेन। भूकम्पले वरपर रहेका सबैका एक छिनमा घरहरू तहसनहस पार्यो। नजिकै रहेका जेठो छोरा र माहिलो छोराको घरमा भने रुवाबासी मच्चिन थाल्यो।
भूकम्पले घरभित्र च्यापिएका ५८ वर्षका दत्तबहादुर कुमाईंको शव निकाले। बुहारी कृष्णा कुमाईंलाई पनि अचेत अवस्थामा बाहिर निकालियो। घाइते अवस्थामा रहेकी कृष्णा कुमाईंको अहिले पनि नलगाड नगरपालिकाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
श्रीमती नलगाड नगरपालिकाको स्वास्थ्य केन्द्रमा कृष्णा कुमाईंको उपचार भइरहेको छ। माहिलो छोरा हस्तबहादुर कुमाईका जेठा छोरा (नाति) भिमश्याम, नातिनी बुहारी कमला र ३ वर्षका पनाति सञ्जयको पनि उद्धार गरेर शव बाहिर निकालियो। गाउँमै रहेका देवरका नाति भबिलाल पनि भूकम्पमा परेर बितेको खबर आयो।
भूकम्पले कुमाई परिवारको खुसी छिनभरमै चुडाईदियो। परिवारका सदस्यहरू र वरपरका स्थानीय मिलेर सबै शव बाहिर निकाले र घाइते भएकालाई उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था मिलाए। सबै घाइतेलाई नलगाड नगरपालिकाको स्वास्थ्य केन्द्रमा पुर्याइयो। घाइते भएका मध्ये गम्भीर अवस्थाकी ७८ वर्षीया हिरालाई त्यहाँबाट सेनाको हेलिकप्टरले चौरजहारी पुर्यायो र जहाजबाट उनलाई थप उपचारका लागि शनिवार भेरी अस्पतालमा ल्याइएको थियो।
हिराका कान्छा छोरा सुरेन्द्रले विवाह गरेका छैनन्। भूकम्प जाँदा उनी कामको सिलसिलामा मुस्ताङमा थिए। घटनापछि मात्र उनी मुस्ताङबाट जाजरकोट फर्किएका हुन्। भूकम्पमा परेर ज्यान गुमाएका जेठो दाइ दत्तबहादुर, माहिला दाइको छोरा भिमश्याम, बुहारी कमला र नाति सञ्जय तथा परिवारकै नजिकका भबिलालको दाहसंस्कार गरी आमाको स्याहार गर्न भेरी अस्पताल आइपुगेका छन्।
भूकम्पमा परी ज्यान गुमाएका आफ्ना परिवारभित्रका ४ र नजिकका आफन्त गरी ५ जनाको एउटै चिता बनाएर शनिवार अन्त्येष्टि गरिएको सुरेन्द्रले सुनाए। ‘हाम्रो परिवारको एउटै चिता बनाएर दाह संस्कार गर्यौँ, चिउरी गाउँमा मात्रै १३ जनाले भूकम्पमा ज्यान गुमाएका छन्,’ उनले नागरिकसँग भने ‘भौतिक संरचना पुरै ध्वस्त भएको छ, घरबाट कसैले एक मुठ्ठी पनि अनाज निकाल्न पाएनन्।’ सबैका घर ढुङ्गा र माटोको देवल तथा डुङ्गाले छाएका थिए। हिराका पतिको २०७० सालमा काल गतिले निधन भएको थियो। पति गुमाएको १० वर्षपछि भूकम्पले उनीमाथि ‘बज्रपात’ पारिदियो। उनी भन्छिन्, ‘यो बुढेसकालमा मैले यो के विपत्ति देख्नु पर्यो ?’