२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतकाे दादागिरी नेपालकाे पश्चिमी भूमिमा झनै उग्र

काठमाडौं । पश्चिमी सीमाना गड्डाचौकीस्थित नेपाल–भारत सीमाको ७ नम्बर पिल्लर रहेकाे अन्तर्राष्ट्रिय सिमास्तम्भसम्म भारततर्फ कालोपत्रे सडक देख्न सकिन्छ।

दशगजाको नेपालतर्फ उबडखाबड बाटो छ। त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा कुनै संरचना बनाउन नपाउने भन्दै बाटोमा ग्राभेल राख्न समेत दिएको छैन। तर दशगजा क्षेत्रमा भारततर्फ बनेको कालोपत्रे सडक हालै भारतले मर्मत गरेको छ। सीमामा खटिएको सशस्त्र प्रहरी भने मूकदर्शक बनेको छ।

पहिलेदेखि नै कालोपत्रे सडक थियो, भारतीय पक्षले सो सडकलाई अहिले फराकिलो बनाएका छन्,’ भीमदत्त नगरपालिका– ११ का अध्यक्ष प्रकाश थापाले भने, ‘दशगजासम्मै भारतले कालोपत्रे सडक बनाएको छ, नेपालतर्फ ग्राभेल पनि हाल्न दिएका छैनन्।’

उनका अनुसार ३ मिटर चौडा रहेको कालोपत्रे सडक अहिले फराकिलो बनाएर ४ मिटर बनाइएको छ। दशगजा क्षेत्रमा संरचना बनाउँदा आफूहरुसँग केही समन्वय नगरेर भारतले एकलौटी रुपमा सडक मर्मत गरेको उनको भनाइ छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी भन्छन्, ‘सशस्त्रलाई यसबारेमा रिपोर्ट गर्न भनेको छु।’ सीमामा दादागिरी शैलिमा अन्तर्राष्ट्रिय मान्यतालाई उल्लघंन गर्दै गतिविधि अघि बढाइरहेको भारतले नेपालतर्फ विभिन्न ठाउँमा सडक निर्माणमा अवरोध पुर्याउँदै आएको छ।

विभिन्न बहाना झिकेर भारतीय पक्षले कञ्चनपुरको ब्रह्मदेव, जिमुवा, बेलौरीलगायत क्षेत्रमा विकासको मुख्य पूर्वाधार सडक निर्माणमा अवरोध पुर्याएको छ।

ब्रह्मदेवमा जैविक मार्गअन्तर्गत पर्ने डेढ सय मिटर सडक भारतीय पक्षले निर्माण गर्न दिएको छैन। केही वर्षअघि भीमदत्त नगरपालिकाले कालोपत्रे गर्न ६० लाख रुपैयाँमा ठेक्का खोलेको थियो। तर त्यहाँ अहिलेसम्म भारतले सडक निर्माण गर्न दिएको छैन।

‘एसएसबीले ‘उप्परका आदेश’ (माथिको आदेश) भनेर ग्राभेल पनि राख्न दिएको छैन, ब्रह्मदेव बजार नजिकै पानी जम्ने ठाउँमा कलभर्ट राख्न खोज्दा पनि राख्न दिएको थिएन,’ भीमदत्त नगरपालिका–९ का अध्यक्ष गगनसिंह कार्कीले भने, ‘केहीदिन अघि बोरामा माटो भरेर राखेका थियौँ, त्यति बेलै हटाइदियो।’

भीमदत्त नगरपालिका–१० जिमुवा चौकी नजिक दशगजा क्षेत्रमा पर्ने सडकमा पनि भारतीय पक्षले ग्राभेलमा अवरोध गरेको छ। दक्षिणी क्षेत्र अन्तर्गत पर्ने बेलौरी नगरपालिका–८ पचुईमा पनि भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरेको छ।

‘एसएसबीले ‘उप्पर’(माथि)बाट आदेश नआउँदासम्म बाटो निर्माणको काम गर्न दिदैनौँ भनेको छ,’ बेलौरी नगरपालिका–८ का अध्यक्ष विषराम रानाले भने, ‘सडक निर्माण त परको कुरा खाल्डाखुल्डी पुर्न पनि दिइएको छैन।’

 

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस