२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिडियामा सरकार जताततै पुगेको सुन्छौं, हाम्रा लागि तपाइ नै पहिलो भन्दै एमालेजनसँग रोए पीडित

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितहरुको साहारा बन्न नेकपा (एमाले) को टोली जिल्लाका दुर्गम गाउँ छिरेको छ । राहत बोकेर एमालेजन गाउँमा पुग्दा मिडियामा सरकार जताततै पुगेको सुन्छौं, हाम्रा लागि तपाइ नै पहिलो भन्दै पीडितहरु भक्कानिएका छन् ।

चिकित्सक सहितको टोलीले भुकम्पमा ज्यान गुमाएका मृतकका परिवार र अन्य पीडिहरुलाई राहत प्रदान गर्दै मनोपरामर्श समेत दिन शुरु गरेको टोलीका प्रमुख नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । भूकम्प प्रभावितहरुको खोज, उद्धार र राहतका अनेक कुरा गरेपनि जिल्लाका दूरदराजमा सरकारी टोली समेत नपुगेको बेला चिकित्सक सहितको राहत टोली गाउँ पुग्ने एमाले पहिलो भएको नलगाड नपगरपालिका–३ की यमुना पुनले बताइन् । शुक्रबारको बिनाशकारी भूकम्पमा आफ्ना श्रीमान गुमाएर विक्षिप्त अवस्थामा रहेकी पुनका अनुसार भूकम्प गएको तीन दिन बित्दा समेत गाउँमा आफूकहाँ आउने टोली एमालेको पहिलो हो ।

‘रेडियो र नेटमा प्रधानमन्त्री देखि कति धेरै नेताहरु पीडितलाई खोज्दै आउनुभएको कुरा सुनिन्छ तर हामीकहाँ आउने त हजुरहरु पहिलो टोली हो’, आँखाभरी आँशु झार्दै पुनले थपिन् । घरमा पुरिएर उहाँ (श्रीमान्) जानुभएदेखि हाम्रो पाटाको वास थियो अब यहाँहरुले दिएको पालले आकाशका तारा हेरेर रात कट्नु नपर्ने भयो उनले भनिन् ।’

अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहेका चिकित्सक डा. सुरज कडरियासहितको टोलीले भूकम्प प्रभावितहरुको स्वस्थ्य परिक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । दुई दिनदेखि जाजरकोटका दुर्गम गाउँहरुका भूकम्प पीडितहरुसँग प्रत्यक्ष भेटेर सान्त्वना सहित राहत वितरण गरेको एमालेको टोली गाउँ जाने जिल्लाकै पहिलो भएको छ ।

भूकम्प प्रभावितहरुको खोज, उद्धार र राहत वितरणका नाममा जिल्ला सदरमुकाममा जतिसुकै टोलीहरु आएको भएपनि जाजरकोटको सबैभन्दा बढि मानविय क्षति भएको नलगाड नगरपालिकाका विभिन्न वस्तीमा पुग्ने टोली एमालेको पहिलो हो, केन्द्रीय सदस्य आचार्यले भने, ‘हामीले हरेक पीडितको घरमा गएर प्रारम्भिक स्वास्थ्य परिक्षणसहित सान्त्वना दिदैं, राहत समेत प्रदान गरिरहेका छौं ।’

शुक्रबार राति ११ः४८ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर १०५ जनाको मृत्यु भएको जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा मात्र ५१ जनाको मृत्यु भएको थियो भने नलगाड–१ मा २५ जनाको ज्यान गएको एमाले नेता आचार्यले बताए । विभिन्न निकायहरुसँगको समन्वयमा काठमाडौंदेखि राहत संकलन गरेर गएको एमाले टोलीले नलगाडका २६३ घरपरिवारलाई त्रिपाल, ब्लांकेट, चामल, दाल, तेल, चाउचाउ, बिस्कुट वितरण गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि, नेकपा (एमाले) का स्थानीय कमिटीका पदाधिकारीहरुको रोहबरमा परामर्श, स्वास्थ्य परिक्षण र राहत वितरण गरेको टोलीले तीनै तहका सरकारका प्रतिनिधिहरुले जिल्ला सदरमुकाममा मात्रै केन्द्रीत हुनुभन्दा गाउँका कुनाकाप्चामा भएका पीडितहरुकोमा पनि पुग्न आग्रह गरे । भूकम्पको त्रासदीले पीडितहरुमा झस्कीने, बर्बराउने, डराउने समस्या छ’, टोलीमा संलग्न डा. सुरज कडरियाले भने, ‘राहत सामाग्री सहित मनोपरामर्शका लागि चिकित्सकहरुको टोली पनि गाउँमा आउन जरुरी छ ।’

एमाले नेता आचार्यको टोलीमा काठमाडौंबाट गएका चिकित्क सहित एमाले जाजरकोटका नेताहरु नवराज सिंह, धर्मबहादुर शाही, रिता रावल, धनबहादुर रावल, हेमन्त बुढा, सुनिता बोहोरा, दिनेश गौतम लगायतका नेताहरु संलग्न छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस