२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरा–मुग्लिन सडकमा कालोपत्रे सुरु, पोखरा पुग्न आधा समय छोटिने

पोखरा । पोखरा मुग्लिन सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ । डुम्रेदेखि छिर्कने भन्ज्याङसम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । आइतबारदेखि कालोपत्रे सुरु भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यहाँको ३ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना छ ।

आँबु खैरेनीदेखि पोखरासम्मको करिब ८२ किलोमिटर सडक खण्डलाई २ वटा ठेक्का लगाएर स्तरोन्नति गर्न लागिएको हो । पूर्वी खण्ड आँवुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म छ । दोस्रो खण्डभन्दा पहिलो खण्डमा काम तीव्र रुपमा भैरहेको छ ।

जेठमा बरादी खण्डमा ३ किलोमिटर सडक पिच भैसकेको छ । यो आर्थिक वर्षको पहिलो पटक पिच गरिएको उनले बताए । हालसम्म ३७ प्रतिशत हाराहारी काम सकिएको उनले जानकारी दिए । ‘कोरोना लगायतका कारण प्राकृतिक समस्या भएको थियो । ठेकेदारका कारण रोकिएको छैन । कोरोना अवधि थप्दा सम्झौता अवधिमै काम सकिने विश्वास छ,’ उनले भने, ‘अहिलेसम्म कल्भर्ट, कटिङ लगायत काम अलि ढिलो भयो । अब मेसिनले गर्ने काम हो, अलि छिटो जान्छ ।’

उनले तिहार लगत्तै डुम्रेको नालापुलदेखि छिर्कनसम्मको सडक पिच गरेर आँबुखैरेनी क्षेत्रमा जाने बताए । हाल ४ मध्ये २ लेनमा पिच गर्ने काम भइरहेको छ । पूर्वी खण्ड ४१.४५ किलोमिटर छ । २०८१ वैशाखसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएकोमा तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना निकै कम छ । २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । यसको लागत ६ अर्ब २१ करोड ३१ लाख छ । एसियाली विकास वैंकको २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । पश्चिम खण्डको काम भने निकै सुस्ताएको छ । यो सडक २५ मिटर फराकिलो हुनेछ भने सहरी क्षेत्रमा ४१ मिटर हुनेछ । यो बनेपछि पोखरा पुग्न आधा समय छिटो हुनेछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस