२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली सेनाका चिकित्सक टोलीसहित तीन बटालियन फौज परिचालित, ५ वटा हवाई साधन निरन्तर उडान

काठमाडौं । कार्तिक १७ गतेको जाजरकोट भूकम्प लगत्तै नेपाली सेनाका स्थान विशेषमा तैनाथ युनिटहरूसहित थप तीन बटालियन फौज परिचालित भएका छन् । ५ वटा हवाई साधन निरन्तर उडान गरिरहेको सेनाले जनाएको छ । फौजहरु परिचालित भई प्रभावितहरूको खोज तथा उध्दार कार्य सञ्चालन गरिँदै आएकोमा प्रभावित जिल्ला आसपासका युनिटहरूबाट समेत थप फौज खटिई खोज तथा उध्दार कार्यलाई निरन्तरता दिइएको सेनाको हेडक्वाटरले जनाएको छ ।

परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा रहेका घाइतेहरूको उध्दार, मृतकहरूको शव भग्नावशेषबाट निकाल्न सहयोग, घाइतेहरूलाई जिल्ला अस्पताल तथा अन्य प्राथमिक उपचार केन्द्रमा पुर्‍याउन सहयोग गर्नुका साथै नेपाली सेनाको हवाई साधनद्वारा जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज तथा सुर्खेत पुर्‍याइरहेको छ ।

वीरेन्द्र अस्पताल तथा सुर्खेत र नेपालगन्जमा रहेका मेडिकल युनिटहरूबाट खटिएको मेडिकल टोलीले स्थान विशेषमा सामान्य घाइतेहरूको उपचार गर्नुका साथै जटिल प्रकृतिका घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज तथा सुर्खेत पठाएको छ । प्राथमिक उपचार पश्चात् सामान्य अवस्थाका बिरामीहरू उपचार केन्द्रहरूबाट फर्कने क्रम समेत जारी रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका विभिन्‍न मेडिकल टिमहरुसहित भूकम्प पश्चातको खोज र उध्दार कार्यमा करिब ३ (तीन) बटालियन फौज परिचालित छन् । थप तथा आकस्मिक कार्यको लागि काठमाडौँ, सुर्खेत र नेपालगन्जमा नेपाली सेनाका Collapsed Structure Search and Rescue (CSSR) र Composite Quick Reaction Team (CQRT) तयारी अवस्थामा रहेका छन् । नेपाली सेनाको ५ वटा हवाई साधनहरू निरन्तर घाइते तथा बिरामीहरूको उध्दार तथा राहत सामग्री ढुवानी कार्यमा खटिएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस